सरकार प्याड महङ्गो भो

फेसबुकमा प्याडको रकम महँगो भएकाले कम गर्न सरकारको ध्यानाकर्षण गराउँदै एउटा पोस्ट गरेकी थिएँ । लेखेकी थिएँ, ‘सरकार प्याड महङ्गो भयो ।’ कमेन्टमा एकजना दिदीले लेख्नुभयो, ‘सस्तो हुँदा पनि म त किन्न सक्दिनँ, आर्थिक अवस्था सारै कमजोर छ । जति नै सस्तो भए पनि मेरो भाग्यमा छैन ।’  यो देख्दा साह्रै नरमाइलो लाग्यो । केही गर्न सक्छु सक्दिनँ‚ थाहा छैन‚ तर उहाँको पीडा बुझ्नमात्र सक्छु ।

प्याडको साटो कपडाका टाला प्रयोग गर्दा पाछेर हिँड्न नसक्ने भइन्छ । पछि गएर पाठेघरमा पनि समस्या आउँछ भन्छन् डाक्टरहरू । यो पिडा मैले त बुझेँ‚ तर सामाजिक सञ्जालमा विद्वान बन्ने पुरुषहरू आएर हाम्रो आमाहरूले कपडा लगाएर हिँड्दा केही भएन‚ अहिले नाटक गरे भन्न थाले । पहिले यो सबको ज्ञान नभएर कति आमाहरूको ज्यान गएको थियो भन्ने कुराचाहिँ महोदयहरूलाई थाहा रहेनछ ।

सक्नुहुन्छ‚ यो आवाजमा स्वर थपिदिनुहोस्,  सक्नुहुन्न भने चुप लागेर बस्नुहोस् । हाम्रो समस्यालाई तपाईँको ठट्यौलीको विषय नबनाउनुहोस् । यो महिलाको समस्या हो । उनीहरूलाई साथ दिन सकिँदैन भने यो संवेदनशील कुरामा हतोत्साहित पनि गर्नु हुँदैन ।

जुन सस्तो आउँछ त्यो लिए भयो‚ भन्ने कुरा पनि आयो । सस्तो पनि किन्न नसक्ने दिदीबहिनीले के गर्ने ? हो तपाईँहरूलाई यसको पीडा थाहा छैन‚ त्यसैले यस्तो हल्का टिप्पणी गर्नुभयो । हामीलाई हाम्रो पीडा थाहा छ, भोगेका छौँ । त्यही भएर‚ आफैँ आवाज उठाउँदैछौँ । सक्नुहुन्छ‚ यो आवाजमा स्वर थपिदिनुहोस्,  सक्नुहुन्न भने चुप लागेर बस्नुहोस् । हाम्रो समस्यालाई तपाईँको ठट्यौलीको विषय नबनाउनुहोस् । यो महिलाको समस्या हो । उनीहरूलाई साथ दिन सकिँदैन भने यो संवेदनशील कुरामा हतोत्साहित पनि गर्नु हुँदैन ।

महिलाको स्वास्थ्य, सरसफाइ एकदमै संवेदनशील विषय हो । यसको लागि सरकारले नीति तथा कार्यक्रमदेखि बजेटसम्ममा राख्नुपर्ने हो । तर विडम्बना के भने स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा उल्लेख्य प्रगति हुन सकेको देखिँदैन । नीतिगत स्पष्टता भए पनि व्यवहारमा पूर्ण लागू भएको कहिले देखिएन । त्यसैमाथि हरेक क्षेत्रमा महँगी बढेको अवस्था छ । राज्य/सरकार यस्ता विषयहरूमा संवेदनशील हुन जरुरी देखिन्छ । मेरो भोगाइ पनि सबैको जस्तै हो । महिनावारी हुँदा शारीरिक एवम् मानसिक दुवै रूपमा कमजोर बन्ने गरिन्छ । कसैलाई धेरै दुखाइ हुन्छ भने कसैलाई कम । मलाई एकदम धेरै दुखाइ हुन्छ । बेहोस नै हुने गरी । कसैलाई धेरै रगत बगिरहने समस्या हुन्छ । मैले महिनावारीको अवधिभर दुई प्याकेटभन्दा बढी प्याड फेर्ने गरेकी छु । जसको मूल्य हिसाब गर्ने हो भने हाराहारी ५०० रुपैयाँसम्म पर्न आउँछ ।

धेरै दिदीबहिनी मेरै अवस्थामा हुनुहुन्छ । अझ कतिलाई झन् गाह्रो होला । महिनावारी भएका बेला प्याड अनिवार्य आवश्यकता हो । तर, सबैलाई सहज छ जस्तो चाहिँ लाग्दैन । अलिअलि आयस्रोत हुनेका लागि त यो विषय सामान्य नै होला‚ त्यही भएर कोही बोलेको जस्तो लागेन । तर यो कुरा सबैका लागि सामान्य होइन । सामान्यतया १३/१४ वर्षको उमेरबाट महिनावारी सुरु हुने गर्छ । र १३ वर्षको एउटा किशोरीले हरेक महिना आफ्नो स्वास्थ्य र सरसफाइका लागि ५०० रुपैयाँ आफ्ना अभिभावकसँग माग्नुपर्ने हुन्छ । अझ त्यसमाथि समाजले थोपरिदिएको लाजको ट्यागले पनि सानैदेखि महिलालाई अप्ठ्यारो बनाइदिएको छ । प्याडलाई राज्यको आर्थिक पाटोसँग जोडेर हेर्नु पूर्णतः गलत हो । यसमा नाफा घाटाको कुरा छैन ।

मलाई एकदम धेरै दुखाइ हुन्छ । बेहोस नै हुने गरी । कसैलाई धेरै रगत बगिरहने समस्या हुन्छ । मैले महिनावारीको अवधिभर दुई प्याकेटभन्दा बढी प्याड फेर्ने गरेकी छु । जसको मूल्य हिसाब गर्ने हो भने हाराहारी ५०० रुपैयाँसम्म पर्न आउँछ ।

यो हरेक महिलाको स्वास्थ्यसँग जोडिएको कुरा हो । नागरिकको माग र उनीहरूले उठान गरेको कुरालाई सुनेर त्यसको व्यवस्थापन गर्नु राज्यको दायित्व पनि हो । महिनावारी र प्रजनन स्वास्थ्यसँग जोडिएका विषयहरू त विद्यालयकै पाठ्यक्रममा राखिनुपर्ने र पढाइनुपर्ने विषय हो । यसलाई सानै उमेरदेखि बुझ्न एकदमै जरुरी हुन्छ । हाम्रो समाजमा महिनावारीका कुरा लुकाइन्छ । यस्तो कुरा गर्नु हुँदैन‚ यो त फोहोर कुरा हो भन्ने मानसिकता घुमिरहेको छ । यो विषयमा हरेक स्थानीय सरकारले आफ्ना नीति तथा कार्यक्रमहरूमा राख्नु र जनचेतना जगाउनुपर्ने विषय हो । पाठ्यक्रममा राखेर हुन्छ कि अन्य कुनै तरिकाबाट हुन्छ यसलाई सबैलाई बुझ्ने विषयका रूपमा कार्यक्रमहरू बनाइनुपर्छ । यो लाज, फोहोरको विषय कदापि होइन ।

यो विषयमा पहिलेदेखि नै आवाज उठ्दै आएको पनि हो । तर विडम्बना अझैसम्म पनि सुनुवाइ भएको जस्तो लाग्दैन । अझै पनि लाज भन्ने, भगवानसँग जोड्ने,  भेदभाव गर्ने, एक्लै छुट्टै कोठामा सुताउने, परिवार र समाजबाट टाढा राख्नेजस्ता चलन हराएका छैनन् । काठमाडौँजस्तो विकसित सहरमा पनि यस्तो भइरहेको छ । यसलाई देउतासँग जोड्दा र परिवारबाट टाढा राख्दा धेरै जनाको ज्यानै जाने गरेको छ बर्सेनि‚ तर खोइ ध्यान पुगेको ? खोइ यसलाई नियन्त्रण गर्न सकिएको ?

यो विषयमा परिवारका अभिभावकको भूमिका महत्त्वपूर्ण हुने गर्छ । उहाँहरूले आज जसरी स्कुलिङ गर्नुहुन्छ‚ भोलि त्यो परिवारका बच्चाहरूले सिक्ने पनि त्यही नै हो । महिनावारी महिलामा हुने प्राकृतिक अवस्था हो । यसमा लाज मान्नुपर्ने, लुकाउनुपर्ने, भेदभाव गर्नुपर्ने कुनै पनि कुरा छैन । महिनावारीका बेला सबैभन्दा महत्त्वपूर्ण कुरा सरसफाइ हो । त्यसका लागि सेनिटरी प्याडले एकदमै ठूलो भूमिका खेल्दछ । सेनिटरी प्याड सर्वसुलभ हुनु एकदमै जरुरी छ । त्यसका लागि सबै पक्ष- सरकार, सञ्चार माध्यम, नागरिक समाज, गैरसरकारी संस्था, परिवार, विद्यालयलगायत अन्य पक्षहरूले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने देखिन्छ ।

यस विषयमा आएका नकारात्मक सोचाइहरूलाई अब जरैदेखि उखेल्नुपर्छ । प्रत्येक सरकारी विद्यालयहरूमा प्याडको उचित व्यवस्था गर्नुपर्दछ । यसका लागि स्थानीय सरकारले ठोस कदम चाल्न जरुरी छ । किन्न सक्नेका लागि सुलभ मूल्यमा र किन्न नसक्नेका लागि निःशुल्क वितरण गर्नुपर्दछ । सञ्चार क्षेत्रले बारम्बार यस विषयलाई उठान गर्दै राष्ट्रिय बहसको रूपमा अगाडि ल्याउनु जरुरी देखिन्छ । समाजमा महिनावारीका बारेमा चेतना फैलाउँदै सञ्चार माध्यमले प्रजनन स्वास्थ्यको विषयलाई केन्द्रमा ल्याएर धेरै आमा, दिदीबहिनी र छोरीहरूको ज्यान बचाउन ठूलो योगदान गर्न सक्छन् । महिनावारीलाई पाप अनि प्याडलाई विलासी वस्तु ठान्ने सोचबाट हामी बाहिर निस्कनै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *