हटेन स्यानिटरी प्याडको कर, उद्योग खोल्न भने छुट

काठमाडौँ । नयाँ बजेटमा पनि महिनावारीको समयमा अति आवश्यक पर्ने स्यानिटरी प्याडमा लगाएको करमा छुट नदिएको पाइएको छ ।

सरकारले ‘विलासिताको वस्तु’अन्तर्गत राखेर कर लिँदै आएकोमा त्यो कर छुट गराउन माग गर्दै आन्दोलन र सर्वोच्च अदालतमा रिट नै दायर भए पनि सरकारले कर भने यथावत् राखेको हो ।

उपभोक्ताहरूले स्यानिटरी प्याड खरिदमा १३ प्रतिशत भ्याट तिर्नु परेकोमा विरोध गर्दै कर छुट हुनुपर्ने माग राख्दै आएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ प्रतिस्थापन बजेटले स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरु भएको मितिले ३ वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट र त्यसपछिको २ वर्ष ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । यो निर्णयले स्वदेशमा नै उत्पादन गर्न भने प्रोत्साहन गरेको छ ।

तर विदेशबाट आयातित प्याड खरिद गर्दा सधैँ झैँ १३ प्रतिशत कर तिर्नुपर्छ । अझ स्यानिटरी प्याड अन्तिम उपभोक्तासम्म पुग्दा त्यसमा १५ प्रतिशत करसहितको मूल्य जोडिने गरेको छ ।

यो प्रावधान खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा नै परेको छ । कानूनका विद्यार्थी श्रीना नेपाल र अभ्युदय भेटवालले साउन २६ गते सर्वोच्चमा रिट दायर गरेका हुन् । मुद्दाको असोज १५ गते पेसी तोकिएको भेटवालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *