अमेरिकाले देशबाहिर ५० करोड थप कोभिड खोप बाँड्ने

काठमाडाैँ । अमेरिकाले अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड-१९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरे ।

त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ । यसअघि राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप दान दिने बाचा गरेकामा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप देशबाहिर बाँडिसकेको छ ।

विश्वलाई कति खोप चाहिन्छ ?
विज्ञहरूका अनुसार विश्वको ७० प्रतिसत जनसङ्ख्यालाई खोप दिनका लागि ११ अर्ब मात्रा खोप आवश्यक पर्नेछ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ भित्रै हरेक देशमा कम्तीमा ४० प्रतिसतले खोप लगाउने लक्ष्य राखेको छ ।

तर त्यस्तो लक्ष्य भेटिने सम्भावना देखिंदैन । बाइडनले खोप वितरणका व्यवस्थापकिय चुनौतीलाई सम्बोधन गर्न समेत थप रकमको घोषणा गरेका छन् ।

असमान वितरण
धेरै उच्च आय भएका देशहरूले आफ्ना आधाभन्दा धेरै जनसङ्ख्यालाई कम्तीमा एक मात्रा खोप दिएको अक्सफर्ड विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । जबकी न्यून आय भएका देशमा २ प्रतिसतले मात्र पहिलो मात्रा खोप लिन सकेका छन् ।

कयौँ अध्ययनहरूले अझै धनी देशहरूले चाहिनेभन्दा धेरै खोप सञ्चय गरेको र तिमध्ये उच्च सङ्ख्या काम नलाग्ने भएर छिट्टै फ्याकिनुपर्ने बताइएका बेला ह्वाइटहाउसले त्यस्तो सम्मेलन आयोजना गरेको हो । जुन महिनामा जी-सेभेन सदस्य राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिकाले अर्को वर्ष गरिब देशहरूका लागि १ अर्ब मात्रा खोप दान गर्ने बाचा गरेका थिए । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *