नोबेलमा शल्यक्रिया गरेर ढाडबाट निकालियो ५ किलोको मासुको डल्लो

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरेर एक बिरामीको ढाडबाट ५ किलोको मासुको डल्लो निकालिएको छ । झापाको दमक नगरपालिका-३ आमचोकका ५६ वर्षीय कुलबहादुर तामाङको ढाडमा पलाएको मासुको डल्लो शल्यक्रिया गरेर निकालिएको हो ।

ढाडमा पलाएको बोसो मिश्रित मासुको ५ किलोको डल्लो शल्यक्रिया गरेर निकालिएको नोबेल अस्पतालका शल्यचिकित्सक डा.अमित भट्टराईले बताए । ‘उहाँको गर्धन भन्दा मुनी ढाडको सिरानमा मासु पलाएको रहेछ, धेरै वर्ष अघिदेखि ढाडमा ५ किलोको मासुको डल्लो बोकेर बसिरहनुभएको रहेछ,’ डा.भट्टराईले भने, ‘हामीले सर्जरी गरेर निकालेको छौ, अहिले उहाँको स्वास्थ्य अवस्था ठिक छ, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरेका छौँ ।’

डा.भट्टराई नेतृत्वको चिकित्सकहरूको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर मासुको डल्लो निकालेको हो । बिरामीलाई अर्धबेहोस बनाएर शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका क्रममा नोबेलका एनएसथियोलोजिष्ट प्रा.डा.सीआर दासले सहयोग गरेका थिए । करिब १० वर्षअघि तामाङको गर्धन भन्दा मुनी ढाडको सिरानमा मासुको सानो डल्लो उम्रिएको थियो । त्यो क्रमिक रूपमा बढ्दै गएर ठूलो भएको हो ।

ढाडमा अस्वाभाविक रूपमा मासुको डल्लो बढेपछि तामाङलाई हिँडडुल गर्न र सुत्न निकै समस्या उङ्ने गरेको थियो । उनी बर्सौँ अघिदेखि ५ किलोको मासुको डल्लो बोकेर बसिरहेका थिए । अहिले शल्यक्रिया गरेर ढाडबाट मासुको पोको निकालिएपछि उनलाई सहज भएको छ । ‘सुरुमा सानो विमिरो जस्तो निस्किएको थियो, पछि बढ्दै-बढ्दै गयो, सधैँ भारी बोकेर बासिरहनुपर्दा निकै गाह्रो भइरहेको थियो,’ तामाङले भने, ‘अप्रेसन गरेर फालेपछि ढुक्क भयो । १० वर्षदेखि बोक्दै आएको भारी बिसाएजस्तो भएको छ ।’

यसअघि नोबेलमा इलामकी एक महिलाको पाठेघरबाट ६ किलोको ट्युमर निकालिएको थियो । अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापनका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *