महिलाको हत्या आरोपमा चार जना पक्राउ

विराटनगर । झापामा हत्या आरोपमा चार जना पक्राउ परेका छन् । झापा गाउँपालिका- १ माइतीघर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका १ का ३७ वर्षीय लखन टुडु सतार , ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय श्री हेमरम सतार रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गत भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा गाँउपालिका-१ स्थित सानो माइखोलामा महिलाको अर्धशरीर भएको टाउको, घाँटी, पेट (कम्मरभन्दा माथीको भाग) तथा घुडाभन्दा मुनिको भाग नभएको अवस्थामा लाश फेला परेको थियो । अर्धशरीर भेटिएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले शवलाई हत्या गरेर फालिएको निष्कर्ष निकालेर अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता नविन राईले जानकारी दिए ।

प्रहरीका अनुसार महिलाको अर्धशरीरको लाश ५५ वर्षीया डोली भन्ने धोन्नी टुडुको रहेको अनुसन्धानबाट खुलेको थियो ।

पक्राउ परेकाहरू मृतक धोन्नीको आफन्तहरू रहेको र जग्गाको विषयमा उनिहरूबीच विवाद हुँदै आएकोमा भदौ २५ गते चारै जना मिलेर धोन्नी टुडुलाई माइखोला किनारमा लगेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई बुधबार सार्वजनिक गर्दै उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *