जनमत संग्रहमा जाऔँ, कसले जित्छ हेरौँला : विप्लव

पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमत संग्रहमा आउन सरकारलाई चुनौती दिएका छन् । संसदीय व्यवस्थाले बाटो बिराएको भन्दै उनले जनमत संग्रहमार्फत् समाजवादी व्यवस्था ल्याउनुपर्ने उनको प्रस्ताव छ । ‘हामी देशको भविष्य बोकेर हिँडेका हौँ । खुट्टा कमाउदैनौँ । केही साथीहरूले तपाईंहरू जित्नुहुन्छ भनेर प्रश्नु गर्नुभएको छ । नेपालमा जनमत संग्रह सुनिश्चित गरौँ, हामी जित्छौँ । एक प्रतिशत पनि नघटाएर भन्छु, हामी जित्छौँ । नेपाली जनताको चाहना हो,’ उनले भने ।

विप्लवले अहिलेको संसदीय व्यवस्था असफल भइसकेको बताए । ‘यो व्यवस्था चलेन नि त । हामीले त ७३ सालमै भनेको हो,’ उनले भने, ‘त्यतिबेला कसैले सुनेन । तर राज्य चलेन, सरकार चलेन, नेताहरू चलेनन्, पार्टी चलेन ।’ नेपाल विदेशीको ईशारामा चलेको उनको भनाइ छ । ‘सत्ताबाट राज्य चलेको छैन । मालिक घरि डलर बोकेर आउँछ‚ घरि डण्डा बोकेर आउँछ । घरि मालिक बन्दुक बोकेर आउँछ,’ उनी भन्छन्, ‘हाम्रा पार्टीका नेता भनिनेहरू उनीहरूका अगाडि कान समातेर उठबस गर्छन् ।’

विप्लवले आफूहरू सरकारसँग गरेको तीनबुँदे सहमतिमा इमान्दार भए पनि सरकारले जालझेल गर्न लागेको आरोप लगाए । ‘त्यसमा हामी सहमत छौँ, लागू गर्छौँ । शान्तिपूर्ण विचार राख्न जनताकोमा जान्छौँ । तर त्यो लागू नगरेर अर्को शर्त थुपारिन्छ अनि हाम्रो जेलका साथीहरू छाड्न घेरा हाल्न खोजिन्छ भने त्यो घेरा तोडिदिन्छौँ,’ उनले आक्रोश पोखे ।

उनले एमसीसी कुनै हालतमा पास हुन नदिने चेतावनी दिए । ‘नेपालको भाँडभैलोमा अमेरिकाले ठूलो फाइदा उठाउन चाहन्छ । देश र पार्टीहरूलाई कमजोर बनाएर लुट्ने साम्राज्यवादीहरूको नीति हो,’ विप्लव अघि भन्छन्, ‘एमसीसीको नाममा डलर बोकेर आउँदैछन् । योसँगै भित्रबाट अमेरिकी साम्राज्यवादका दाह्रा-नङ्ग्रा यहाँ घुस्दैछन् । यो कुरा राम्रोसँग बुझाउनुपर्छ ।’ यसअघिका सम्झौताहरू राष्ट्रको हितविपरीत सिद्ध भएको भन्दै उनले त्यसबाट पाठ सिकेर एमसीसी फर्काउन सरकारसँग आग्रह गरे ।

पोखरामा नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । सम्मेलनले नयाँ नेतृत्व छनोट गर्नेछ भने नयाँ शिक्षा प्रणालीको प्रस्ताव तयार गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *