कोभिडमा पोखरियाको असल अभ्यास

विराटनगर । विराटनगरमा रहेको पोखरिया माध्यामिक विद्यालयको कक्षा १० मा पढ्ने अनुजा बुढाथोकी नेपाली माध्यामकी विद्यार्थी हुन् ।

उनको घरमा अनलाईनको सुविधा नहुँदा लामो समयसम्म पढ्न पाइनन् । अरु साथीहरू अनलाइन कक्षा लिइरहँदा उनको निकै समय पढाइ छुट्यो । अघिल्ल्लो वर्ष पनि छिमेकी साथीहरूकोमा गएर पढ्दा उनलाई निक्कै समस्या पर्‍यो । एक वर्षसम्म निक्कै मेहनत गरेर पढेकी अनुजाका लागि पढ्ने सहज वातावणको खोजी गरिन् । कोभिडको कारण विद्यालयसँग पनि विकल्प थिएन । विद्यालयले विभिन्न निकायसँग कुराकानी गरेपनि अवस्था सहज भएन ।

त्यस्तै समस्या भोगेकी कक्षा १० कै वर्षा मण्डल र कक्षा ९ की पुजा ऋषिदेवलाई पनि कोभिडको बेला अनलाईनबाट पढ्न निक्कै सकस भयो । अरु साथीहरू अनलाईनबाट पढ्दा उनीहरूलाई पढाइ छुटेकोमा निक्कै पीर लाग्थ्यो । ‘हामीले धेरै पटक प्रयास गर्‍यौँ, सरहरूले पनि सिकाउनुभयो,’ ती विद्यार्थीले भने, ‘डाटाबाट चलाउँदा दिनमा एक सय रुपैयाँभन्दा बढी खर्च हुन थालेपछि धेरै दिन त पढाइ नै छुटायौँ ।’

नेटको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने योजना स्थानीय तहको नभएपनि विद्यालयले स्थानीय तहलाई दबाब बढाउँदै गयो । घरमा नेटको पहुँच नभएका विद्यार्थीहरूका लागि नेपाल सरकारको सियूजी सीम दिने योजनाअनुसार, पोखरिया विद्यालयले ५६८ जना विद्यार्थीलाई सियुजी सीम उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले बताए ।

सरकारले सियुजी सीम उपलब्ध गराउनको लागि केही आर्थिक सहयोग गरेपछि विद्यालयलले अनलाईन पढ्न चाहने विद्यार्थीको खोजी थाल्यो र त्यस्ता विद्यार्थीको पहिचान गरेको थियो । ‘हामीले आह्वान गरेपछि ६०७ जना भर्चुअल पढ्न चाहने र वञ्चित भएको तथ्य फेला पार्‍यौँ, प्रअ भट्टराईले भने, ‘त्यसैलाई आधार मानेर ती सबै विद्यार्थीलाई सियुजी सिम लिन आह्वान गर्‍यौँ, आह्वान गरिएको मध्ये ५६८ जना विद्यार्थीले फर्म भरे र विद्यालयमा सम्पर्क राखे ।’

कोभिडको कारण लामो समय विद्यालयको पढाइबाट वञ्चित भएका विद्यार्थीहरू अहिले आएर निरन्तर कक्षामा सहभागी भएका छन् । प्रअ भट्टराईका अनुसार सियुजी सीम वितरण गर्नभन्दा पहिला पढ्नबाट वञ्चित भएका अनुजा, वर्षा तथा पुजाजस्ता विद्यार्थीलाई अनलाईन सियुजीले सहज भएको छ । ३ महिनाको प्याकेजमा ३७५ रुपैयाँप्रति विद्यार्थी सियुजी सिम प्रयोग गरेबापत नेपाल टेलिकमको सीम प्राप्त गरेपछि विद्यार्थीलाई पढ्न सजिलो भएको विद्यालयले जनाएको छ ।

नेपाली र अंग्रेजी माध्यमबाट छुट्टाछुट्टै पढाउँदै आएको विराटनगरको, पोखरियासहित सत्यनारायण, आदर्श, नरग्राम तथा सरस्वती माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीमात्र अनलाईनमा सहभागी छन् ।

अनलाईनमा जान शिक्षकलाई ल्यापटप
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट विद्यालयले प्राप्त गरेको थियो । आएको २५ लाखमध्येबाट पोखरिया माध्यामिक विद्यालयको शैक्षिक उन्नयनका लागि १ शिक्षक १ ल्यापटपबाट अन्तर्गत ४१ जना शिक्षकले ल्यापटप प्राप्त गरे । यसरी ल्यापटप खरिद गर्नुको कारण भनेको विद्यार्थीलाई अनलाइनबाट पठन पाठन गर्न सहज होस् भन्ने नै रहेको विद्यालयले जनाएको छ । शिक्षक प्रविधिमैत्री हुँदा विद्यार्थीले त्यसको लाभ पाउने भएकाले वैकल्पिक माध्यमको पढाइलाई बढावा दिइएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यार्थी सुलभ कटुवालले फिजिकल पढाइ भएको जस्तै गरी नै अनलाईनबाट पढाइ हुने गरेको अनुभव सुनाए । ‘कहिलेकाहिँ नेटको समस्या आउने गरेको छ,’ उनले भने, ‘समय व्यवस्थापन, कसरी चाँडो लेख्ने, लेख्ने अतिरिक्त तरिकाहरू पनि सिकाइको माध्यममा हुने गरेको छ ।’

No description available.

कक्षा ११ सम्म पढ्दा बुक देखाउँदै पढाउने गरिएको भएपनि कक्षा १२ मा गएपछि बुझ्नुपर्ने कुराहरू मात्र शिक्षकहरूले पढाउने गरेको उनले बताए । विद्याथीहरू पहिलाको भन्दा अनलाईनबाट पढ्दा सजिलो हुने गरेको अनुभव सुनाउँछन् । विद्यार्थी कटुवाल भन्छन्, ‘नोट छुट्टै र पढ्नुपर्ने कुरा छुट्टै हुँदा नयाँपन आएको छ । लामो कोर्सलाई छोट्याउनका लागि विद्यार्थीहरुलाई पढेर आउन भन्ने, नोटहरू दिने र त्यसको आधारमा विद्यार्थीबाट नै प्रतिक्रिया लिने गरिएको छ ।’

तथ्यांकविहीन महानगर
विराटनगर महानगरपालिकामा कति विद्यार्थी अनलाईनमा पढ्छन् भन्ने तथ्यांक विराटनगर महानगरपालिकासँग छैन । विराटनगर महानगरपालिका शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराईले महानगरपालिकाभित्रको शैक्षिक अवस्था, सियुजी प्रयोगकर्ता तथा अनलाईनबाट पढ्ने र छुट्नेको संख्यासमेत नभएको बताए । ‘हामीले डिटेल्स लिएका छैनौँ,’ उनले भने, ‘विद्यालयहरुले पठाउने कुरा हो‚ हामीलाई यो बारेमा तथ्याङ्क आएको छैन ।’

आधारभूत र माध्यामिक तहका विद्यालयमा ईन्टरनेट जडानका लागि प्रतिविद्यालय १२ हजारका दरले रकम उपलब्ध गराएको भट्टराईले बताए । ‘हामीले कोभिडको बेलामा प्रतिविद्यार्थी २ सयका दरले स्वास्थ्य सामग्री खरिदका लागि रकम पठाएका छौँ,’ उनले भने, ‘ईन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीका लागि शैक्षिक सत्र २०७७ को साउन, मंसिर र पुसमा रेडियो तथा टेलिभिजनबाट कक्षा सञ्चालन भएको छ ।’

सत्यनारायण, पोखरिया, आदर्श स्कुलमा ६५ देखि ७० प्रतिशत बालबालिका , राधाकृष्ण र गोग्राहा माविमा ४० प्रतिशत अनलाईनमा सहभागी भएको शिक्षा महाशाखाले जनाएको छ । बाँकी रहेकाहरूलाई सम्पर्क कक्षाको माध्यमबाट सिकाइ सहजीकरण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *