सुदूरपश्चिम प्रदेशसभाको बैठक दुई महिनादेखि अनिश्चित

धनगढी । दुई महिनाअघि अनिश्चित कालका लागि स्थगित भएको सुदूरपश्चिम प्रदेश सभाको बैठक अझै बस्न सकेको छैन । सत्ता साझेदार दलमा भएको विवाद, पार्टी विभाजनलगायतका कारण प्रदेशसभा बैठक दुई महिनादेखि अनिश्चित बनेको हो ।

सभामुख अर्जुनबहादुर थापाले गएको असार २७ गते प्रदेशसभा अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले केही दिनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूबीच छलफल हुने र बैठकको मिति तय हुने उनले बताए ।

‘पछिल्लो समयमा सत्ता साझेदार दलमा देखिएको राजनीति उतारचढाव र पर्याप्त बिजनेस नहुँदा दुई महिनादेखि बैठक बस्न सकेको थिएन,’ उनले भने, ‘अब कसरी र कहिलेदेखि बैठक बोलाउने भन्नेबारे दलका नेताहरूबीच छलफल भएर मिति टुङ्गो लाग्छ ।’ सचिव धामीले असोज दोस्रो सातासम्म प्रदेशसभाको बैठक बस्न सक्ने सम्भावना रहेको बताए ।

उनका अनुसार प्रदेशसभामा छलफलका लागि तीनवटा विधेयक सचिवालयमा दर्तासमेत भइसकेका छन् भने तीनवटा विधेयक समितिमा छलफलका क्रममा छन् । पशुपन्छी स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भइसकेको छ । त्यस्तै, प्रदेश लोकसेवा आयोग सम्बन्धमा बनेको विधेयक र प्रदेश खेलकुदसम्बन्धी विधेयक पनि संशोधनका लागि सचिवालयमा दर्ता भएको सचिव धामीले जानकारी दिए ।

उनका अनुसार लोकसेवा आयोगको विधेयकमा स्थानीय तहका कर्मचारीको बारेमा स्पष्ट नभएको र खेलकुदसम्बन्धी विधेयकमा सदस्य सचिवको कार्यकाल नतोकिएको कारण संशोधनका लागि सचिवालयमा दर्ता भएका हुन् ।

यस्तै, प्रदेश निजामती सेवा र प्रदेश प्रहरी गठन सम्बन्धमा बनेको विधेयक विधायन समितिमा छलफलमा छ भने दलित सशक्तीकरणसम्बन्धी विधेयक सामाजिक विकास समितिमा छलफलमा रहेको सचिव धामीले जानकारी दिए । ती विधेयक समितिमा छलफलपछि सिधै प्रदेशसभाको बैठकमा पेश हुनेछन् ।

‘हाउसबाट पारित हुन बाँकी रहेका विधेयकहरू पारित भइसकेपछि वर्षे अधिवेशन अन्त्य हुने प्रदेशसभा सचिव धामीले बताए । गतअसार २७ गते बसेको प्रदेशसभा बैठकमा सभामुख हालसम्म प्रदेश सभाबाट ५३ वटा विधेयक पारित भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *