हजारौँ मानिसको ज्यान बचाएका पउललाई आतङ्कवादको मुद्दामा २५ वर्ष जेल सजाय

काठमाडौँ । आतंकवादको मुद्दामा तानिएका होटल रुवान्डाका म्यानेजर पउल रुसेसाबगिनालाई अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । रुवान्डामा नरसंहार भएको समयमा सयौँ मानिसको ज्यान जोगाएका पउललाई रुवान्डाको एक अदालतले २५ वर्षको जेल सजाय सुनाएको हो ।

करिब ८ लाख मानिसको मृत्यु भएको उक्त नरसंहारको समयमा आफूले सञ्चालन गरेको होटलमा सयौँ मानिसहरूलाई सकुशल राख्न पउल सफल भएका थिए ।

‘ओस्कर’को मनोनयनमा समेत परेको प्रसिद्ध चलचित्र ‘होटल रुवान्डा’मा पाउल रुसेसाबगिनालाई हिरोका रुपमा चित्रित गरिएको छ भने चलचित्रमा हलिउडकर्मी डन चिडलले पउलको भूमिका निभाएका छन् ।

चलचित्र होटल रुवान्डामा उनी रुवान्डामा भएको जातीय नरसंहारको नायकको रुपमा चित्रित भएका थिए । ६७ वर्षका यी हिरोले वास्तविक जीवनमा रुवान्डाको नरसंहार ताका एक हजारभन्दा धेरै मानिसको ज्यान जोगाएको मानिन्छ ।


बीबीसीका अनुसार रुवान्डामा सन् १९९४ को अप्रिलदेखि एक सय दिन चलेको जातीय हिंसामा परेर ८ लाख नागरिक मारिएका थिए । मारिनेमा तुत्सी समुदायका धेरै थिए । यो नरसंहारमा तुत्सी समुदायका नागरिकलाई हुतु समुदायका अतिवादीले आक्रमण गरेका थिए ।

पाउल, तुत्सी समुदायकी युवती बिहे गरेका हुतु समुदायका नागरिक हुन् । उनले आफ्नो आत्मकथामा, जातीय नरसंहारताका होटल माइन्स कोलिन्सको व्यवस्थापक हुँदा धेरै हत्यारालाई सम्झाई बुझाई गरेर धेरैको ज्यान बचाएको दाबी गरेको बीबीसीले लेखेको छ । उनले आफ्नो उच्चस्तरीय सम्बन्ध र पैसाको बलले धेरैलाई बचाउन सकेको दाबी गरेका छन् ।

यसरी भए हिरोबाट ‘आतंकवादमा जोडिएका मान्छे’
पाउलले सन् १९९६ मा रुवान्डा छाडे । उनले देश छाडेपछि उनी सत्ता परिर्वतनको पक्षमा लागे । सन् २०१८ मा सार्वजनिक भएको भिडियोमा उनले भनेका छन्‚ ‘हामीसँग भएका जे जति माध्यम छन्‚ ती सबै प्रयोग गरेर अब रुवान्डामा परिर्वतन ल्याउन आवश्यक छ । सबै खालका राजीनितिक व्यवस्थाको प्रयोग असफल भएको छ । त्यसैले अब अन्तिम विकल्पमा जान आवश्यक छ ।’

उनी रुवान्डाका विपक्षीहरूको गठबन्धन ‘रुवान्डा मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज’का प्रमुख हुन् । गठबन्धनको राष्ट्रिय मोर्चा सन् २०१८ बाट आक्रमणमा उत्रिएको छ ।

तुत्सी सहुदायका रुवान्डाका राष्ट्रपति पाउन कागानेमाथि आक्रमण भएपछि यी ‘हिरो’ समस्यामा परेका हुन् । उनलाई रुवान्डामै भने ‘उत्पादित हिरो’ भन्ने गरिन्छ । रुवान्डाका सञ्चारमाध्यमले भने उनको कथालाई गलत भएको भन्दै आएको बीबीसीले लेखेको छ ।

रुवान्डाको सैन्य मोर्चामा सम्बन्ध भएको भन्दै पाउल, गतवर्षको अगस्टमा पक्राउ परे । उनले अदालतमा आफूले सैन्य मोर्चा बनाएको‚ तर त्यो आतंककारी नभएको दाबी गरेका थिए । तर, रुवान्डा सरकारले भने उनीमाथि आतंकवादको मुद्दा लगाएको छ । देशमा खासै विरोध नभएपनि यस विषयमा विदेशबाट भने विरोध हुँदै आएको छ ।

पाउलकी छोरी करिन कानिम्बाले बीबीसीसँग आफ्नो बाबुलाई राष्ट्रपतिले नै व्यक्तिगत रिसीबी साँधेर दुःख दिएको बताएकी छन् ।

बीबीसीबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *