लेखनाथ उद्योग वाणिज्य सङ्घमा आत्रेयको नेतृत्व

पोखरा । लेखनाथ उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व निर्वाचित भएको छ । २५ औँ वार्षिक साधारण सभा तथा १३ औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

सोमबार राती सकिएको मतगणना अनुसार वरिष्ठ उपाध्यक्षमा विनोद श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिस्पर्धी भरतकुमार अधिकारीलाई ५८ मतले पछि हराएका हुन् । श्रेष्ठले कुल ८ सय १ मत प्राप्त गर्दा अधिकारीको ७ सय ४३ मत आयो । प्रथम उपाध्यक्षमा ८ सय ५७ मत सहित राजेन्द्र ओझा विजयी हुँदा उनका निकट प्रतिद्वन्द्वी प्रकाशलाल श्रेष्ठले ४ सय ७९ मत ल्याए ।

द्वितीय उपाध्यक्ष पदमा गोपीचन्द्र बास्तोला निर्वाचित भएका छन् । उनले शैलेन्द्रमोहन भट्टराईलाई १ सय ४७ मतान्तरले पराजित गरेका हुन् । महासचिवमा उपेन्द्रराज सुवेदी विजयी हुँदा प्रतिस्पर्धी मेनुका श्रेष्ठ ४ सय ६९ मतले पछि परिन् । सङ्घको उपमहासचिवमा पहिलो पटक महिला उम्मेदवार विजयी भएकी छिन् । प्रत्याशी धिरजकुमार श्रेष्ठलाई ३ सय मतान्तरले पराजित गरी जानुका अधिकारी विजयी भएकी हुन् । कोषाध्यक्षमा भरतराज ओझा निर्वाचित भए । उनीसँग प्रतिस्पर्धी रामजी पौडेल ९५ मतले पराजित भएका हुन् ।

खुला सदस्यमा विक्रम कर्माचार्य, बुद्धिप्रसाद बास्तोला, ध्रुवबाबु भट्टराई, इन्दिरा रोका, जीवन तिवारी, भरत थापा, पुष्पमणि भण्डारी र हरि बस्ताकोटी विजयी भए । खुला सदस्यमा २० जना प्रतिस्पर्धी थिए । महिला सदस्यमा गङ्गाकुमारी मल्ल र रञ्जना बराल विजयी भए । यो पदमा ५ जना उम्मेदवार थिए ।

अध्यक्षमा भने यसअघि नै छत्र धर आत्रेय सर्वसम्मत निर्वाचित भैसकेका छन् । संस्थागत सदस्यमा रामबहादुर गुरुङ र एसोसिएट सदस्यमा मेघराज पौडेल पनि निर्विरोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *