पतिको हत्या आरोपमा पत्नी पक्राउ

जनकपुरधाम । करिब दुई हप्ता अगाडी भारतको जयनगरमा सिरहाका एक नेपालीको हत्या उनको पत्नीकै योजनामा भएको रहस्य खुलेको छ ।

भारत बिहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर पुर्‍याई सिरहा गोलबजारका ३९ वर्षीय दुखरण महराको हत्या उनकै पत्नीको योजनामा भएको देखिएपछि पत्नी हरिहर देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । भारतको जयनगरस्थित वरही गाउँको नहरमा सिरहा गोलबजारका महराको भदौ १८ मा घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

सिरहा प्रहरीका अनुसार पत्नी हरिहर देवीले भदौ १७ मा पति दुखरणलाई उपचारको बहानामा भारतको जयनगर पुर्‍याइन । त्यहाँ उनले भारतीय नागरिक मुकेश यादवलगायतको समूहलाई ६० हजार नेपाली रुपैयाँ दिएर पहिलादेखि नै पति दुखरणको हत्या गर्ने योजना बुनेकी थिइन् । सोही दिन दुखरणको घाँटी रेटेर हत्या भएको थियो ।

घटनाको अनुसन्धानको क्रममा प्रहरीले हरिहरदेवीलाई पक्राउ गरेको हो । पतिको कर्तव्य गरी हत्या गराएको कसुरमा पत्नी हरिहरदेवीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

केही दिन अगाडी मात्रै कतारबाट फर्केर गाउँमै फर्निचर तथा किराना पसल व्यवसाय गरिरहेका दुखहरण र हरिहरदेवीका चारजना सन्तान छन् । भारतीय नागरिक मुकेशलाई पनि भारतीय प्रहरीले पक्राउ गरी जयनगर थानामा राखेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *