प्रदेश १ : औद्योगिक क्षेत्रमा विद्युत् समस्या

विराटनगर । कटहरी गाउँपालिकामा रहेको बोहरा खाद्य उद्योगमा लामो समयदेखि विद्युतले कामै गर्दैन । लाईन आएको समयमा पनि जोनेरेटर चलाउनुपर्ने बाध्यता छ । लो भेल्टेजका कारण उद्योगमा लाईनको सर्कुलेसन भइरहेको बेला पनि जेनेरेटर चलाउनुपर्ने समस्या रहेको उद्योगका सञ्चालक अभिनाश बोहराले बताए ।

बिहीबार पनि धेरै पटक ट्रिपिङ समस्या रहेको उनले सुनाए । ‘विद्युत् प्राधिकरणले पुराना संरचनाको स्तरोन्नति नगर्दासम्म समस्या भएको छ,’ उनले भने, ‘लो भोल्टेज र ट्रिपिङ उद्योगीको मुख्य समस्या हो ।’ ५० औँ वर्ष पुराना संरचनाहरू अहिले पनि उस्तै अवस्थामा रहेको कुनै मर्मत सम्भार नभएकाले व्यवसायीहरूले विद्युत्‌मा समस्या झेलिरहेको उनले सुनाए ।

‘नियमित सप्लाई भएको छैन, ट्रान्सफरमर कमजोर छ,’ उनले भने, ‘विद्युत् प्रवाह हुने लाईन ५० वर्ष पुरानो छ, ईन्सुलेटरको समस्या छ ।’ बोहराका अनुसार जेनेरेसनमा समस्या छैन, ट्रान्समिसनको मुख्य कुरा हो । सबैभन्दा दुखी भनेको कटहरी ईन्डस्ट्रियल करिडोर हुन् ।

यो करिडोरमा ३२५ देखि ३५० सम्मको भोल्टेज नकटेको उनले बताए । ‘विद्युत् हुँदा पनि जेनेरेटर चलाउनुपर्ने बाध्यता रहेको छ,’ उनले भने, ‘हाम्रो माग भनेको भोल्टेज व्यवस्थित गर्नुपर्छ भन्ने हो ।’ यो करिडोरमा लाईन हुँदा पनि जेनेरेटरबाट उद्योग चलाउनुपरेको छ । विगत ५-६ महिनदेखिकै यो समस्या देखिएको उनले बताए ।

एक्कासी लाईन जाँदा कच्चा पदार्थ बिग्रने गरेको उद्योगीको गुनासो छ । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले आवश्यकताभन्दा कम विद्युत् उपलब्ध गराउँदा समस्या भएको बताए । यो तथ्याङ्कलाई आधार मान्दा कम विद्युत् आयातको असर उद्योगी व्यवसायीले झेल्दै आएको उनले सुनाए । ‘विद्युत् कुनैबेला आउने जाने खालका समस्या छ, भोल्टेज अपडाउन पनि हाम्रो लागि पीडादायी बनेको छ,’ उद्योगी रिजालले भने, ‘प्राधिकरणले निरन्तरत मर्मतको काम आन्तरिक रुपमा गर्नुपर्ने हो‚ त्यस्तो भएको पाइएन हामीले समस्या भोग्नुपरेको छ ।’ अझ बढी सप्लाईको वातावरण बनाइनुपर्ने हुन्छ । विराटनगर-रानी करिडोरमा पनि ट्रान्सफर्मर र पुराना तार परिवर्तन गर्नुपर्ने बताए ।

उद्योगी व्यवसायी पछिल्ला दिन विद्युत् समस्याको विषयलाई लिएर तनावमा देखिन्छन् । विद्युत्‌को अनियमित कटौती भएको भन्दै मोरङ सुनसरी औद्योगिक करिडोर तथा विराटनगर रंगथेली करिडोरमा विद्युत् समस्या भएको उद्योगी व्यवसायीको भनाइ छ । विराटनगरमा रहेका आधा दर्जनभन्दा बढी उद्योगी व्यवसायीका संस्थाहरूले उद्योगधन्दा नै अस्तव्यस्त हुने गरी विद्युत्‌मा समस्या आएको बताउँदै आएका छन् ।

प्रदेश १ का ठुला व्यवसायी संस्था उद्योग संगठन, मोरङ व्यापार संघ, उद्योग परिसंघले विद्युत् प्राधिकरणलई नियमित विद्युत् आपुर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

औद्योगिक करिडोरको समस्याको बारेमा विराटनगर वितरण केन्द्रलाई जानकारी नहुने बताएको छ । नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश्वरकुमार गोहिभरले विराटनगरमा भन्दा कटहरी क्षेत्रमा बढी समस्या देखिएको बताए । अहिले विराटनगरमा ९५ मेगावाट विद्युत चालु अवस्थामा रहेको जानकारी दिँदै कम भोल्टेज हुनुलाई दुहबी ग्रिडमा नयाँ ट्रान्समिटर जडान गर्नुपर्ने समेत उनले बताए ।

केही समस्या उद्योगकै
विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजन ढकालले विद्युत्‌मा आएको समस्या समाधानका लागि उद्योगी व्यवसायीसँग छलफल भइरहेको बताएका छन् । ‘व्यवसायीको कुरा ट्रिपिङमा समस्या भएको भन्ने कुरा छ,’ उनले भने, ‘व्यवसायीको समस्याका बारेमा छलफल जारी नै छ, एउटा समिति बनाएर समस्या पहिचानका लागि काम शुरु भएको छ ।’ अहिलेको समस्या भनेको पटक पटक लाईन जाने समस्या नै हो । लाईनको समस्याको कारण व्यवसायीले आफ्ना माग उठाउँदै आएका छन् ।

पुराना संरचनाले गर्दा पानी परेको बेला लाईन फल्ट हुने अहिलेको समस्याको रुपमा देखिएको छ । शुरुमा विद्युत् सोर्समा नै समस्या रहेको भन्ने कुरा पनि थियो । त्योअनुसारको काम गर्न केही अप्ठ्यारा रहेको प्राधिकरणले जनाएको छ । विद्युत् ट्रिपिङ समस्या तत्काल समाधान गर्नका लागि बिजुलीको पोल र तार नै फेर्नुपर्ने अवस्था रहेको ढकालले बताए । तत्काल बिजुलीको तार फेर्नुपर्‍यो भने पनि विद्युत् कटौती हुने भएकाले औद्योगिक क्षेत्रमा असर पर्ने भएकाले तत्कालको समस्या समाधानतर्फ ध्यान दिइएको उनले बताए । विद्युत् कटौती गर्नु पर्दाको अवस्थामा उद्योगी व्यवसायीलाई समयमा नै खबर गरिदिने भनेर प्राधिकरणसँग छलफलको क्रममा सहमति भएको पनि उनले जानकारी दिए ।

उद्योगहरूकै कारण पनि भोल्टेज कम हुने गरेको विद्युत् प्राधिकरणको ठम्याइ छ । नेपाल विद्युत् प्राधिकरणले राखेको ट्रान्समिटरसँगै उद्योगीहरूले आफ्नै ट्रान्समिटरहरू राखेका छन् । ती ट्रान्समिटर बिग्रिँदा वा त्यसमा समस्या आउँदा सिस्टममा नै समस्या आउने गरेको प्राधिकरणको भनाइ छ । उद्योगी व्यवसायीले पनि त्यस्ता ट्रान्सफर्मरको मर्मत तथा समस्या देखिएको अवस्थामा प्राविधिक टोलीलाई देखाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *