कर्मचारी छनोटमा मनोमानी गरेको भन्दै विद्युत् प्राधिकरण सुदूरपश्चिम कार्यालयमा तालाबन्दी

धनगढी । कर्मचारी छनोटमा मनोमानी गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ ।

ठेकेदारमार्फत् कर्मचारी छनोट गर्दा मनोमानी गरिएको भन्दै कार्यालमा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

विद्युत् प्राधिकरणमा काम गर्न दुई वर्षका लागि ठेक्कामार्फत् कर्मचारी छनोट गर्न विज्ञापन आह्वान गरको भएपनि कर्मचारी छनोट गर्ने ठेकेदारले रकम असुलेर मनोमानी रुपमा कर्मचारी राखेको आरोप उनीहरूको छ । विद्युत् प्राधिकरणले ठेकेदार ९८ जना कर्मचारी राख्न ठेक्का आह्वान गरेको थियो ।

तालाबन्दीमा सहभागी दिपक रानाले आफूले प्रक्रिया पुर्‍याएर फर्म भरेको भएपनि छनोट प्रक्रियामा सहभागी नै नगराई नयाँ कर्मचारी छनोट गरिएको बताए । उनले पुरानो सम्झौता सकिएकाले आफ्नो जागिर गुमेकोमा आपत्ति नभएपनि नयाँ सम्झौताका लागि फर्म भर्दा अन्तरवार्ता, लिखित केही नगराई अरु नै व्यक्तिलाई छनोट गरिएको बताए ।

प्राधिकरणका प्रशासकीय अधिकृत दुर्गा खत्रीले कर्मचारी छनोट गर्ने जिम्मा ठेकेदार कम्पनीको भएकाले यो कार्यालयसँग सम्बन्धित नभएको बताए । उनले ठेकेदारले कति फारम भरे‚ कसरी छनोट गरे भन्ने आफूलाई जानकारी नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *