संखुवासभा घटनाका ‘मुख्य योजनाकार’ पक्राउ

विराटनगर । संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार पनि पक्राउ परेका छन् । ४७ वर्षीय खड्गबहादुर कार्की घटनाको मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनको क्रममा प्रहरीले जानकारी दिएको छ । उनीसँगै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई समेत प्रहरीले सार्वजनिक गरेको छ ।

गत भदौ २१ गते ८४ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

उक्त घटनामा संलग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

पाँच जनाको समूहले घटाएको घटनाको योजना लोकबहादुर कार्कीको घरमा भएको प्रहरीको दाबी छ । घटनाको अघिल्लो रात ८ बजे मुख्य योजनाकार कार्कीसहित पाँचै जना बसेर हत्या योजना बनाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सुभेष अधिकारीले जानकारी दिए ।

योजनाअनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोहि अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने योजना बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्या गरेको अन्यले थाहा पाए उनीहरूको पनि हत्या गर्नुका साथै अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमालसमेत लैजाने योजना रहेको प्रहरीले पक्राउ परेकाहरूलाई सार्वजनिक गर्ने क्रममा बताएको छ ।

यस्तो छ घटना प्रकृति:
घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्कीसमेत खेताला जाने कुरा पहिला नै निश्चित भइसकेको थियो । योजनाअनुसार मृतक तेजकुमार कार्की बिहान आउने निश्चित गर्न खड्गबहादुर कार्की बिहान ५ बजे नै तेजकुमारको घरमा गएर ‘लोकबहादुर अल्छि छ‚ घरमै गएर खेताला निश्चित गर्नू भनी तेजकुमारलाई लोकबहादुरको घरतर्फ जान अभिप्रेरित गरी घरतर्फ फर्केको‚ र तेजकुमार लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुरले घर पछाडि चिर्पट लिएर तयारी अवस्थामा बसेको अनुसन्धानको क्रममा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक तेजकुमार बिहानै पाँच बजे खेताला निश्चित गर्नका लागि लोकबहादुरको घर गएर लोकबहादुरलाई ‘अल्छि ! अझैसम्म उठेको छैनस् ?’ भन्दै कराएपछि लोकबहादुर उठेको, लोकबहादुरको भाइ नरेश कार्की र उनीहरूका बुबा रणवहादुर कार्कीसमेत घरमै रहेको प्रहरीले जनाएको छ । घरबाट फर्किने क्रममा योजनाअनुसार लोकबहादुरले भाइ नरेशलाई ईशारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछि पछि गएको‚ घर पछाडिको गोगनेको रूख नजिक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको र खड्गबहादुर र हस्तबहादुरले दाउराको चिर्पटले तेजकुमारमाथि प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तेजकुमारलाई हत्या गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको घटनाको बेला मृतकले ‘लोकेले मार्‍यो, मलाई नमार्’ भन्दै गरेको हार/गुहार सुनेपछि ‘ मेरो श्रीमानलाई नमार’ भन्दै तेजकुमारको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।

घटनाको बेला मृतकले ‘लोकेले मार्‍यो, मलाई नमार्’ भन्दै गरेको हार/गुहार सुनेपछि मेरो श्रीमानलाई नमार भन्दै तेजकुमारको श्रीमती र बुहारी आएकोमा लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर हत्या गरेको प्रहरीको दाबी छ ।

‘मृतक रञ्जनाको लाश रणबहादुर र नरेशले मिलेर कमलाको लाश भएको स्थानसम्म पुर्‍याउन सहयोग गरेको पाइयो,’ प्रहरी भन्छन्, ‘उक्त घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले लोकबहादुरले मुख थुनेर चिर्पटले हिर्काएर घाँटी बटारेर हत्या गरेको देखिन्छ ।’

हत्या गरेर पाँचै जना मृतकको घरतर्फ गएको र घरमा ८४ वर्षीय पार्वती कार्की मकै नङ्ग्याइरहेको अवस्थामा हस्तबहादुरले समातेर घर पछाडिको गोठ नजिक लगेका थिए । त्यहाँ लगेपछि लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घर गएका थिए ।

उनीहरूले हत्या गरेपछि रगत पखाली छुरी बुइकलमा लुकाएको, चिर्पटहरू अगेनामा डढाएको, रगत लागेको कपडाहरूसमेत लुकाएर खड्गबहादुर र निजको छोरा हस्तबहादुर घर फर्किएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । फर्कने क्रममा रञ्जनाले बोक्ने मोबाईल नरेशले लिएर गएको र स्वीच अफ गरेर घरमुनिको ओडारमा लगेर लुकाएको फेला परेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा प्रहरीले लोकबहादुरको घरबाट हिँडेका खड्गबहादुर र निजका छोरा हस्तबहादुर फेरि त्यही घरमा फर्किएर गएको‚ र कसैले सोधे थाहा नभएको, घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भन्नेसमेत सहमति भएको फेला पारेको छ । लोकबहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह भएको प्रहरीले बिज्ञप्ती मार्फत सार्बजनिक गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *