एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित, छलफलमा प्रेम सुवाल एक्लै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को नाराबाजीबीच विनियोजन विधेयक पारित भएको छ । प्रतिनिधि सभाको सोमबार (आज) बसेको बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

विधेयकको मन्त्रालयत शीर्षकमाथिको छलफल सकाएर अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएपछि सभामुखले खर्च कटौतीसम्बन्धी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए ।

सांसद सुवालको खर्च कटौतीको प्रस्ताव अस्वीकार भएपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री शर्माले पेश गरे । एमालेको नाराबाजीका बीच विधेयक बहुमतले पारित भएको हो ।

अब यो विधेयक राष्ट्रिय सभामा दफाबार छलफलका लागि जान्छ । विधेयक राष्ट्रिय सभाले पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउँछ । त्यसलाई स्वीकारेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि कार्यान्वयनमा आउँछ । त्यसपछि हालको बजेट शुन्यताको अन्त्य हुने सरकारले जनाएको छ ।

छलफलमा प्रेम सुवाल एक्लै

विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लै सहभागि भए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नारावाजीमा केन्द्रीत भए भने सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।

सांसद सुवाल एक्लैले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मन्त्रालयगत छलफलमा पनि सुवाल एक्लैले भाग लिए । सुवालले सोधेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिए । अर्थमन्त्रीलाई पुरक प्रश्न सोध्ने पनि सुवाल नै रहे ।

सांसद सुवालले कृषिमा खर्च बढाउनुपर्ने, प्रत्येक युवालाई सैन्य तालिम दिएर देशको रक्षामा लगाउनुपर्ने, एमसीसी जस्ता परियोजनालाई अगाडि बढाउन नहुने बताएका छन् । वाइडबडी जहाज प्रकरण, तारागाउँ विकास समितिमा भएको भनिएको भ्रष्टाचार, आवश्यक औषधि खरिद लगायतका विषयमा अर्थमन्त्रीलाई प्रश्न सोधेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *