प्रदेश १ मा यौनजन्य घटनामा वृद्धि 

विराटनगर । प्रदेश १ मा बालबालिका तथा महिलामाथि हुने यौनजन्य घटनामा वृद्धि भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा  बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा वृद्धि भएको रिपोर्ट सार्वजनिक गरेको हो ।

मानव अधिकारको अवस्था सार्वजनिककरण सहित मानव अधिकार र मानवीय अवस्था विषयक अन्तर्क्रियामा  प्रतिवेदन सार्वजनिक गर्दै महिला तथा बालिकामाथिको घटना बढेको जनाएको हो । महिलामाथि परिवारजनबाट हत्या, बलात्कारपछि हत्याका घटनामा वृद्धि भएको देखिएको इन्सेकका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले बताए ।  उनका अनुसार जनवरी देखि जुन सम्मको अवधिमा ३६६ जना पीडित भएका छन् ।

सन् २०२१ को जनवरी देखि मार्चसम्मको अवधिमा राज्य पक्षबाट ३८ र अन्य पक्षबाट १५१ गरी १८९ जना पीडित भएका छन् । अप्रिलदेखि जुनसम्मको अवधिमा प्रदेश १ मा १७७ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । इन्सेकको अभिलेखका आधारमा अप्रिल देखि जुनसम्मको अवधिमा बाल अधिकारका घटना मध्ये हत्या प्रयासमा एक बालक, एक बालिका, यौन दुर्व्यवहारका घटनामा २ बालक, १९ बालिका, बाल विवाहको घटनामा ४ बालिका र बलात्कारको घटनामा ५० बालिका गरी ७६ जना पीडित भएका छन् ।

महिला अधिकार अन्त्रगतका घरेलु हिंसामा २४, बहुविवाहका घटनामा १३, बलात्कारका घटनामा २७, बलात्कार प्रयासका घटनामा १० र यौन दुर्व्यवहारका घटनामा ३ जना गरी ७७ जना महिला पीडित भएको अधिकारीले बताए । जनवरी देखि मार्च सम्मको अवधिमा बालबालिका विरुद्ध भएका हिंसाबाट बेचबिखन तथा ओसारपसारमा २, बलात्कारका घटनामा ३४, यौन दुर्व्यवहारका १६, विद्यालयमा दिइने शारीरिक दण्ड सजायबाट र बालविवाहका घटनाबाट ५४ जना बालबालिका पीडित भएको इन्सेक प्रदेश १ का प्रलेख अधिकृत अधिकारीले बताए ।

उनका अनुसार सोही अवधिमा महिला विरुद्ध भएका हिंसाका घटनामा ७९ जना महिला पीडित भएका छन् । बलात्कारका घटनामा २८, बलात्कार प्रयासमा १३, यौन दुर्व्यवहारमा १, घरेलु हिंसाका २५, बेचबिखन तथा ओसारपसारका ३  र बहुविवाहका ९ वटा घटना इन्सेकले अभिलेखीकरण गरेको जनाएको छ ।

प्रदेश १ का १४ वटा जिल्लाका इन्सेक प्रतिनिधिहरूबाट सङ्कलन गरिएका घटनाहरूको आधारमा जनवरी देखि जुन सम्मको मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको तथ्याङ्क सहित स्थिति सूचक प्रकाशन गरिएको इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले बताए । अन्तर्क्रिया कार्यक्रममा इन्सेक अध्यक्ष डा। इन्दिरा श्रेष्ठले इन्सेकले हरेक वर्षको फागुन ७ गते प्रकाशन गर्दै आएको वर्ष पुस्तकमा समेट्ने घटनाहरूको अभिलेखीकरण थप सुझाव लिने उद्देश्यले अधिकारकर्मीबीच अन्तर्क्रिया कार्यक्रम गरिएको बताए ।

वर्ष पुस्तक प्रकाशन गर्नुअघि गरिएका छलफलबाट आएका सुझावले पुस्तक थप परिपक्व बताए । प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का कार्यकारी निर्देशक यज्ञ शर्माले नेपालको मानव अधिकारको अवस्था थाहा पाउन वर्ष पुस्तक हेरे पुग्ने बताए । कार्यक्रममा इन्सेक प्रदेश प्रमुख सोमराज थापा, इन्सेकका श्रीराम बजगाईँ, पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाल लगायतले मानव अधिकारको अवस्थाको बारेमा धारणा राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *