असोज १२ भित्र बजेट शून्यता तोड्ने प्रयास

प्रतिनिधिसभा बैठक आज

काठमाडौँ । सरकारले यही असोज १२ गतेभित्र बजेट शून्यताको अहिलेको अवस्था अन्त्य गर्ने प्रयास थालेको छ । ४ गते विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित गरी राष्ट्रिय सभामा पठाउने र ५ गते राष्ट्रिय सभाको बैठकमा यसमाथि बिचार गरियोस् भन्ने प्रस्तावमा छलफल गर्ने सरकारको तयारी छ ।

त्यसपछि विधेयक सांदहरुलाई संशोधनका लागि ७२ घण्टाको समय दिने तयारी छ । ९ गते शनिबार भएकाले १० गते राष्ट्रिय सभाले विनियोजन विधेयक पारित गर्ने गरी तयारी गरिएको सरकारले जनाएको छ । ११ गते प्रतिनिधिसभाले त्यसलाई स्वीकार गरी अहिलेको बजेट शून्यताको अवस्था अन्त्य गर्ने सरकारको तयारी छ । ‘११ गतेभित्र बजेटको प्रतिस्थापन विधेयकको विनियोजन विधेयक दुवै हाउसबाट पारित भएको अवस्थामा बजेट खर्च गर्न सरकारलाई बाटो खुल्छ । बजेट शून्यता अन्त्य हुन्छ भन्ने मेरो बुझाई छ’ राष्ट्रिय सभामा काँग्रेसको संसदीय दलको नेता राधेश्याम अधिकारीले भने ।

सरकारले प्रतिनिधिसभाबाट भोलि विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद् सचिवालयले तयारी अगाडि बढाएको सचिवालय श्रोतले जनाएको छ ।  संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर विनियोजन विधेयकको मन्त्रालयगत एवम् सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि समूहगत छलफल गर्न र मन्त्रालयगत रूपमा उठेका प्रश्नहरूको जवाफ दिने समय सभामुखले तोकेको जानकारी सांसदहरूलाई गराएका छन् ।

संसद् सचिवालयका अनुसार प्रतिनिधिसभामा सुरुमा विनियोजन विधेयकको  मन्त्रालयगत शीर्षकमाथि छलफल हुन्छ त्यसपछि अर्थमन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन् । सांसदहरूले हालेका संशोधनमाथि छलफल हुन्छ र त्यसको पनि जवाफ अर्थमन्त्रीले दिएपछि संशोधन प्रस्ताव पास गर्ने नगर्ने चरणमा जान्छ । त्यसपछि विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले राख्नेछन् । प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

विनियोजन विधेयक पारित गरेपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरूलाई संशोधनका लागि समय दिने गरी प्रतिनिधिसभाको बैठक चलाउने संसद् सचिवालयको तयारी छ ।

एमालेको नाराबाजीले असर गर्दैन : सत्ता गठबन्धन
संसद् बैठक अवरुद्ध पार्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद्को अवरोध खुलाउने निर्णय गरिसकेको छैन । एमालेले अधिवेशनको पहिलो दिनदेखि नै नाराबाजी गर्दै आएको छ । भोलिको बैठकमा पनि एमालेले नाराबाजीलाई निरन्तरता दिने सम्भावना नै धेरै छ ।

तर, सत्ता गठबन्धन एमालेको नाराबाजीले कुनै असर नगर्ने दाबी गरेको छ । ‘सदन खुलाउने हाम्रो प्रयास जारी छ । एमालेले सहयोग गर्छ र अनावश्यक विषय उठाउन छोड्छ भन्ने विश्वास छ’ माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले भने, ‘सहमति भएन र नाराबाजी जारी नै राख्यो भने पनि बजेटलाई रोक्ने छुट सरकारलाई छैन ।’

काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल पनि संसद्को कार्यसूची नरोकिने बताउँछिन् । ‘मुलुक बजेट होलिडेमा छ । सदनमा नाराबाजी हुन्छ भने यसलाई के भन्ने ? सरकारको इमानदार प्रयास कार्यसूची अनुसार सदन चलोस् भन्ने हुन्छ’ उनले भनिन् ।

प्रतिनिधिसभा बैठक आज
आज बस्ने प्रतिनिधिसभाको कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका छ वटा कार्यसूची रहेको जानकारी दिएका छन् ।

उनका अनुसार बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन् । मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोक्नका लागि प्रस्ताव पेस गर्नेछन् ।

बिहान ११ बजेदेखि सुरु हुने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यतालिका रहेको संसद् सचिवालयका महासचिव डा. गौतमले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *