संखुवासभा हत्याकाण्ड : लोकबहादुरका भाइ र बुबासहित ४ जनामाथि सोधपुछ हुँदै

विराटनगर । संखुवासभाको मादी नगरपालिका १ उमलिङ खोलागाउँमा एकै परिवारको ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या काण्ड भएको आज १४ दिन पुगेको छ । प्रहरीले १४ दिनसम्ममा हत्यामा संलग्न एकजनालाई पक्राउ गरी अदालतमा म्याद थप गरेको छ । योबीचमा अरु ४ जनालाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नाम नखुलाए पनि मृतकमध्येको एउटा मोबाईल लोकबहादुर कार्कीका भाइसँगै फेला पारेपछि लोकबहादुरका भाइलाई पनि प्रहरीले संलग्न रहेको आशंकामा नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । उसलाई केही दिनअघि देखि नै सोधपुछका लागि प्रहरीले बोलाएको जनाएको छ ।

त्यस्तै घटनामा अन्यको समेत संलग्नता भएको हुनसक्ने आशंकामा लोकबहादुरका भाइ, उनका बुबा र अन्य २ जना छिमेकीलाई सोधपुछका लागि बोलाएर अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी अरुणकुमार बिसीले जानकारी दिए । ‘उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ डिआईजी बिसीले भने, ‘उनीहरूमाथि अनुसन्धानका लागि सोधपुछ भइरहेको छ,’ अहिलेसम्म अदालतमा म्याद थप भएको छैन, उनीहरूको पनि कहिँकतै संलग्नता रहेको हो कि भन्ने लागेर बोलाएर सोध्ने काम भएको छ ।’

तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा गत भदौ २१ गते सोमबार बिहान फरक फरक स्थानमा शव फेला परेको थियो । ५७ वर्षीय कार्कीसहित उनकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

घटना घटेको पाँचौं दिनमा प्रहरीले मृतक तेजबहादुरकै बडाबाका नाति साइनोले भतिज पर्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । प्रहरीले अनुसन्धान गर्दे अहिले पनि घटनास्थल छाडेको छैन ।

तेजबहादुरकी बुहारी रञ्जना कार्कीको मोबाइल हराएको र प्रहरीले अनुसन्धान गर्दै जाँदा लोकबहादुर कार्कीकै घरमा फेला परेपछि लोकबहादुरका भाइ अनुसन्धानको घेरामा परेको प्रहरीले जनाएको छ। मोबाईल नै घरमा फेला परेपछि घटनाको बारेमा पुष्टि गर्ने प्रमाणको रुपमा यसलाई प्रहरीले हेरेको छ ।

यसले गर्दा अभियुक्त लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई जिल्ला प्रहरी कार्यालयबाट सोधपुछ भइरहेको छ । यसबाट घटनाको थप सबुत/प्रमाणहरू फेला पर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । अहिले अनुसन्धानमा अरु चार जनासँग सोधपुछ भइरहेको प्रहरी स्रोतको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *