प्रतिबन्ध फुकुवापछि विप्लवको पहिलो बैठक : हल सित्तैमा, पत्रकारलाई प्रवेश निषेध

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुरू भएको छ । विप्लव समूहको यो ११औं बैठक हो ।

बैठकमा सहभागी हुन समूहका महासचिव विप्लव बिहीबार नै बन्दीपुर पुगिसकेका थिए । बैठक असो ५ गतेसम्म सञ्चालन हुने जिल्ला सचिव एटमले बताए ।

बैठकका लागि रिसोर्टको हल र सुत्नका लागि कोठा प्रयोग गरिए पनि बैठकमा सहभागी सदस्यका लागि खाना आफैंले मेस चलाउने उनले बताए । बैठक हल होटल सञ्चालकले निःशुल्क उपलब्ध गराएको बताइएको छ ।

बैठकमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी हुनेछन् । होटलमा केन्द्रीय सदस्यसहित नेताको सुरक्षाका लागि पार्टीका पूर्वजनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना बसेका छन् ।

बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले बताए । बैठक सकिएपछि बन्दीपुरमा पार्टीका तर्फबाट नै पत्रकार सम्मेलन गरिने भएको छ ।

विप्लव नेतृत्वको नेकपाले प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएर पहिलो पटक केन्द्रीय समिति बैठक गर्न लागेको हो । ०७५ फागुन २८ गते प्रतिबन्ध लगाइएको समूहलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले फुकुवा गरेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *