योगेशले भने- फेरि एमालेकै सरकारले चुनाव गराउँछ

पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले यो सरकार चुनावसम्म रहन नसक्ने टिप्पणी गरेका छन् । प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब हुने निर्वाचनको नेतृत्व पनि एमालेले गर्ने बताए ।

‘सरकारको अवस्था हेर्दा के सङ्केत गर्छौ भने अब चुनावमा जानै पर्छ । अर्को मङ्सिर मा त चुनाव हुन्छ नै,’ उनी भन्छन्, ‘तर यो सरकारले चुनावको समयसम्म पनि आफूलाई राख्न सक्दैन । फेरि पनि एमालेको नेतृत्वमा सरकार बन्छ । सोही सरकारले चुनाव गराउँछ ।’ सरकार पूर्ण रूपमा असफल भैसकेको भन्दै उनले अब नयाँ नेतृत्व आउन सक्ने बताए । ‘दुई महिनासम्म मन्त्रीमण्डलले पूर्णता पाएको छैन । सरकारकै कारण पहिलो पटक बजेट होल्ड भयो,’ उनी भन्छन्, ‘यही कदम अहिलेको सरकारको असक्षमता हो ।’

एमाले विभाजनको असर भने तल्लो तहमा खासै नपरेको उनले बताए । ‘विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उत्ति कम छ,’ गण्डकीका विभिन्न जिल्लाका बृहत् कार्यकर्ता भेलामा सहभागी भएर फर्किएका उनले भने, ‘जहाँ पनि पार्टी विभाजन गर्नु हुन्न भन्ने साथीहरू हुनुहुन्छ । विभाजनमा लागेकाहरूको मनमा पनि एमाले नै छ ।’ भट्टराईले माधवकुमार नेपाल पुनः एमालेमै फर्किने बताएका छन् ।

‘यसो घरबाट अलि टाढा गएपछि होमसिक हुन्छ नि । त्यस्तै अहिले माधव कमरेडलाई भएको छ । एमालेकै काखमा रहेर रमाएको देखिरहनुभएको छ । सपना र बिपनामा पनि एमाले देखिरहनुभएको छ,’ उनी भन्छन्, ‘उहाँलाई एमालेसिक भएको छ । उहाँ एमालेमै आउनुहुन्छ ।’ गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयकप्रति उनले विरोध गरे । सरकारले प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याएको भन्दै सच्याउन उनको आग्रह छ । भट्टराईले सत्तारुढ दलसँग एमसीसीको आधिकारिक धारणा पनि मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *