प्रदेश सरकारलाई एक करोड बराबरको स्वास्थ्य सामग्री उपलब्ध

विराटनगर । प्रदेश १ सरकारलाई प्रतिमान निमा स्मृति फाउन्डेसनले करिब एक करोड बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री भीम आचार्यलाई हस्तान्तरण गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा एक कार्यक्रमका बीच मुख्यमन्त्री आचार्यलाई फाउन्डेसनले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि एक करोड मूल्य बराबरको विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

अमेरिकी गैरसरकारी संस्था होपको सहयोगमा फाउन्डेसनले स्वास्थ्यसम्बन्धिका ११ प्रकारका विभिन्न सरसमानहरू हस्तान्तरण गरेको फाउन्डेसनकी कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिइन् । उनका अनुसार गाउन २ हजार ४ सय थान, फेस सिल्ड २ हजार ३ सय ३२ थान, मास्क ८ हजार ४ सय थान, एन ९५ डिस्पोजेबल मास्क १ हजार ८ सय थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टिभ फेस सिल्ड १ हजार ८ सय ९० थान, पीपीई मेडियम २ सय ७६, पीपीई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५ हजार ३६० थान रहेको छ ।

मुख्यमन्त्री आचार्यले फाउन्डेसनको सामाजिक सेवा उल्लेखनीय भएको बताए । २००७ सालका क्रान्तिका योद्धा स्व. प्रतिमान चन्द्र बोहोराको स्मृतिमा उनको परिवारले फाउन्डेसन खोली स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोमा मुख्यमन्त्री आचार्यले परिवारलाई धन्यवाद दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका कार्यकारी निर्देशक स्वाती थापाले, आगामी दिनहरूमा प्रदेश सरकारसँग समन्वय गरी यस प्रदेशमा कोरोना महामारीसँग लड्न र बच्नका लागि आवश्यक पर्ने थप सामग्री, प्रशिक्षणलगायतका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाले यसअघि ५ वटा प्रदेशमा यस्ता स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । केही दिनमा लुम्बिनी प्रदेशमा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक स्वाती थापाले जानकारी दिए । कार्यक्रममा समाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फडिण्द्र खत्रीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *