रुखमा टाँड बनाएर पढ्ने धनकुमारले पाए शैक्षिक सामग्री, तुवाचुङको प्राथमिकतामा शिक्षा

काठमाडौँ । रुखमा टाँड बनाएर ‘अनलाइन् क्लास्’ लिँदै आएका खोटाङका धनकुमार मगरलाई शैक्षिक सामग्री वितरण गरिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १० अर्खौलेका धनकुमारले रुखमा टाँड बनाएर ‘अनलाइन् क्लास्’ लिँदै आएका छन् । धनकुमारलाई नगरपालिकाकी उपप्रमुख विमला राईले बाल दिवसको अवसर पारेर शैक्षिक सामग्री वितरण गरेकी हुन् ।

राईले स्कूल ब्याग, डिक्सनरी, डायरीलगायतका सामग्री वितरण गरेकी हुन् । ‘त्यस्तै ब्याकअपसमेत दिएकी छु,’ राईले भनिन्, ‘पढ्दापढ्दै मोबाइलको ब्याट्री सकिने र कक्षा नै छुट्ने समस्यालाई ध्यानमा राखेर त्यो चाहिँ दिएकी हुँ ।’

अर्खौलेको सरस्वती माविमा कक्षा १० मा अध्ययनरत धनकुमारले अन्यत्र कतै मोबाइल डेटा नचलेपछि रुखमा टाँड बनाएर बढ्दै आएका छन् ।

‘शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता’

नगरपालिकामा अब भने चाँडै नै भौतिक उपस्थितिमै पढाइ हुनेछ । उपप्रमुख राईकीअनुसार भौतिक उपस्थितिमै पढाइ शुरू गर्नेबारे गाउँपालिकाले निर्णयसमेत गरिसकेको छ । ‘स्वास्थ्य मापदण्डलाई विशेष ध्यानमा राख्दै अब भने यहाँ भौतिक रूपमा पढाइ हुँदैछ,’ उपप्रमुख राईले भनिन्, ‘यसको विकल्प पनि रहेन ।’

नगरपालिकाले शैक्षिक क्षेत्रलाई सधैं उच्च प्राथमिकतामा राखेको उपप्रमुख राईको भनाइ छ । ‘नगरपालिकाले सधैं शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेको छ,’ उपप्रमुख राईले भनिन्, ‘नगरपालिकाले शैक्षिक कार्यक्रमहरू बनाएर अगाडि बढिरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *