पोखराका पर्यटकीय स्थल खोल्न सामूहिक प्रयास

पोखरा । कोभिडको दोस्रो लहरसँगै पोखरा र आसपासका पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा ठप्प छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीले सबै पर्यटकीय स्थल खोल्न सामूहिक छलफल चलाएको छ ।

विश्व पर्यटन बजार खुलिसकेका अवस्थामा पोखराका पर्यटकीय स्थल बन्द हुनु दुखद हुने भन्दै सहभागीहरूले स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्नुपर्ने बताए । नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई खोल्नु अनिवार्य भैसकेको बताए । नाट्टाले पर्यटकीय क्षेत्रहरूको सरसफाइ सँगै पर्यटक घुम्ने वातावरण बनाउन पहल थालेको छ ।

नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा कोरोना प्रभावित पर्यटन मजदुरलाई १५ दिनको रोजगारी दिने गरी सरसफाइ कार्ययोजना ल्याएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले समयमै गन्तव्य खुला नगरे पर्यटन बजार अझै सुस्ताउने बताए । ‘अब खोल्नैपर्छ । नत्र नेपाल आउन चाहेका पर्यटकहरू पनि अन्यत्र लाग्छन्,’ उनले भने, ‘पहिले सरकारको पर्यटन नीति स्पष्ट हुनुपर्छ । हामी त्यही देखाएर पर्यटक बोलाउँछौँ ।’

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक नवीन पोखरेलले कोरोना प्रभावित पर्यटनलाई चलायमान बनाउने गरी सबैले आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *