पार्टी फुटेको होइन‚ चोइटो उछिट्टिएको मात्र हो : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुटेको दाबी गरेका छन् । एमालेभित्रका केही छेस्काहरूमात्र चोइटिएर उछिट्टीएको दाबी गरेका हुन् ।

झापाले विर्तामोडमा नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले विभाजन नभई एउटा असन्तुष्ट समूह बाहिरिएको बताएका हुन् । एमालेभित्र बसेर फाइदा लिएका‚ तर अन्त्यमा माधव नेपालले बेइमानी गरेको ओलीको आरोप छ ।

एउटा समूह निस्किए पनि एमालेभित्र खासै असर नपरेको दाबी गरेका ओलीले आगामी तीन तहकै निर्वाचनमा एमालेको जित हुने बताए ।

‘विकास विरोधी प्रतिक्रियावादीहरूका कारण विकास नचाहेर एमाले नेतृत्वको सरकार ढालिएको हो,’ उनले भने, ‘एमालेको सरकारले ३ वर्षमा गरेका विकासका कामलाई कसैले बिर्सन सक्दैन ।’ उनले आफ्नो नेतृत्वको सरकार ढाल्नका लागि देशी विदेशी शक्तिको समेत हात रहेको दाबी गरे । अहिलेको सरकार कमजोर रहेको टिप्पणी गर्दै २ महिनामा पनि सरकारले पूर्णता नपाउनुले परमादेशको सरकारले बहुमूल्य समय खेर फालेको उल्लेख गरे ।

प्रतिनिधि सभाका सभामुखप्रति आक्रामक देखिएका ओलीले सभामुले आफ्नो जिम्मेवारी भुलेर पदीय मर्यादा बाहिर गएको आरोप लगाए ।

‘सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारी भुलेर माओवादी केन्द्रको कार्यकताको भूमिका निर्वाह गरे,’ ओलीको आरोप थियो, ‘एमालेले कारबाही गरेका सांसदहरूको नामावली संसद्‌को सूचना बोर्डमा टास्न नसक्नु र संसद सञ्चालन हुँदा पनि संसदमा पेस गर्न नखोज्नु सभामुखको गैरजिम्मेवार भूमिका हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *