बीपीका कोभिड वार्डका चिकित्सक र स्वास्थ्यकर्मीले पाएनन् भत्ता

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको कोभिड वार्डमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् ।

गत वैशाखबाट अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आए पनि हालसम्म त्यहाँ कार्यरत कसैले पनि भत्ता नपाएको गुनासो गरेका छन् ।

कोभिड वार्ड हेर्दै आएका डा गुरुशरण साहले हालसम्म कोभिड वार्डमा काम गर्ने कसैले पनि भत्ता नपाएको बताए । उनका अनुसार अस्पतालको मेडिकल विभागका चिकित्सक र २० भन्दा बढी मेडिकल अफिसरहरूले कोभिड वार्डमा आलोपालो काम गर्दै आइरहेका छन् ।

यसैगरी नर्सिङ स्टाफले पनि आलोपालो कोभिड वार्डमा काम गर्दै आएका छन् । जोखिम मोलेर काम गरेको भए पनि हालसम्म कोभिड भत्ता नपाएको गुनासो उनीहरूको छ ।

अस्पतालले गत वैशाखदेखि कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले सरकारले पर्याप्त बजेट नपठाउँदा भत्ता वितरणमा समस्या भएको बताए ।

उनले भने, ‘नेपाल सरकारको तलब र हाम्रोमा पाउने तलब फरक छ । तलबको पचास प्रतिशत भत्ता दिँदा सरकारले दिएको बजेटले पुग्दैन ।’ कति प्रतिशतका आधारमा दिने भन्ने निर्णय गरेपछि भत्ता वितरण गर्ने उनले बताए ।

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *