एकदिने पालिकाको अध्यक्ष भएकी बालिकाका यस्ता निर्णय

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिकामा मंगलबार देशकै नमूना अभ्यास भयो । गाउँपालिकाका अध्यक्ष बालचन्द माझीले सोमबार नै एक बालिकालाई एक दिनका लागि गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेर आफ्नो जिम्मेवारीमा उक्त बालिकालाई राख्ने भन्ने निर्णय पारित गराए ।

त्यो निर्णय पारित हुँदै गर्दा सबै अचम्ममा परे । एकदिनका लागि पालिकाको अध्यक्ष बालिकालाई बनाउने र निर्वाचित अध्यक्ष सामान्य रुपमा बस्ने भन्दा सबै छक्क परे । तर‚ यसलाई वास्तविकता दिनका लागि पालिकाको बोर्ड बैठकमा नै निर्णय भयो र मंगलबार राष्ट्रिय बाल दिवसको अवसर पारेर एक बालिकालाई गाउँपालिकाको अध्यक्ष बनाइयो । बिहान १० बजे एक कार्यक्रम आयोजना गरी पालिकाका अध्यक्ष माझीले १६ वर्षीय बालिका सुष्मिता ऋषिदेवलाई सांकेतिक रुपमा आफ्नो पद हस्तान्तरण गरे । यो हस्तान्तरणको विषय नै सबैका लागि नयाँ र फरक अनुभूतिको विषय बन्यो ।

No description available.

५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुढिगङ्गा गाउँपालिकाले एक दिनका लागि सांकेतिक रूपमा १६ वर्षीय बालिका सुष्मिता ऋषिदेवलाई गाउँपालिकको नेतृत्व हस्तान्तरण गरेको हो । पालिकाका अध्यक्ष माझीले जिम्मेवारी हस्तान्तरण गरेपछि ऋषिदेवको अध्यक्षतामा बसेको पालिकाको बोर्ड बैठकले विभिन्न ३ वटा निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले बताए ।

No description available.

बालबालिकालाई स्थानीय तह, निर्णय प्रक्रिया, स्थानीय शासनमा बालबालिकाको भूमिकाका विषयमा साझा बुझाइ बनाउन अभिमुखीकरण कार्यक्रम गर्ने र उक्त कार्यक्रमका लागि ५० हजार रकम विनियोजन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बरालले बताए । त्यस्तै बैठकले आजैदेखि यस पालिकाभित्र बाल विवाह न्यूनीकरणका लागि प्रचारप्रसार, पोस्टर तथा चेतनामूलक सन्देश प्रवाह गर्ने र पालिकाभित्र निर्मित पुर्वाधार र आगामी दिनमा बन्ने पुर्वाधारलाई बालमैत्री बनाउन शुरु गर्ने पनि बोर्ड बैठकले निर्णय गरेको उनले बताए । ऋषिदेवको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई यसपछि बस्ने कार्यपालिकाको बैठकबाट अनुमोदन गराइने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *