प्रदेश २ : नेकपा एकीकृत समाजवादी दलको नेतामा महतो

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले प्रदेश २ को संसदीय दलका नेतामा शत्रुधन महतोलाई चयन गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेलगत्तै संसदीय दलको नेतामा महतोलाई चयन गरिएको नेकपा एसका सांसद प्रमोद यादवले जानकारी दिए । उनका अनुसार दलका उपनेता र प्रमुख सचेतक भने चयन गर्न बाँकी नै छ ।

यसअघि नेकपा एमालेमा हुँदा पनि संसदीय दलका नेता महतो नै थिए । महतो एकीकृत समाजवादीमा गएपछि नेकपा एमालेले संसदीय दलको नेता भने चयन गरेको छैन । एमालेले सांसद सत्यनारायण मण्डललाई संसदीय दलको नेता चयन गर्ने चर्चा भने चलिरहेको छ ।

केन्द्रमा बनेको गठबन्धनअनुसार प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेको एकीकृत समाजवादीले जनाएको छ । तर कहिले र कतिवटा मन्त्रालयमा सहमति हुने भन्ने टुङ्गो लाग्न बाँकी रहेको सांसद यादवले जानकारी दिए ।

प्रदेश २ मा नेकपा एमालेका २१ सांसद थिए । जसमध्ये १३ सांसदले एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *