सभामुख-ओलीबीचको संवादहीनता उस्तै, सर्वदलीय बैठकमा ओली नजाने

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओली सहभागी नहुने भएका छन् । उपनेता सुवासचन्द्र नेम्वाङ्गले दिएको जानकारीअनुसार ओली बैठकमा उपस्थित हुने छैनन् । ‘उहाँ नजाने निश्चित हो,’ नेम्वाङ्गले भने, ‘अरू नै कोही साथीहरूले प्रतिनिधित्व गर्नुहुन्छ ।’ बैठक दिउँसो २ बजे बस्दैछ ।

गत भदौ २३ गतेदेखि शुरू भएको संसद्को नवौं अधिवेशनको बैठकहरूमा एमालेले विरोध जनाउँदै आएको छ । यसपछि सभामुख सापकोटाले गतिरोध अन्त्यका लागि भन्दै सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

संसद् सचिवालयले भने ओलीलाई नै सम्बोधन गर्दै पत्र लेखेको छ । यद्यपि ओली नजाने भएका हुन् । गत वर्षको पुस ५ र जेठ ८ गतेको संसद् विघटनको कारणले सभामुख–ओलीबीच सम्वादहीनता चुलिँदो छ । यसअघि बोलाइएको बैठकमा समेत ओली सहभागी भएनन् ।

सभामुख सापकोटाले परामर्शका लागि बोलाउँदा पनि नेम्वाङ्गले भने प्रतिनिधित्व गरेका थिए ।

सभामुख सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले २३ गतेबाट शुरू भएको संसद् बैठक निरन्तर अवरुद्ध गर्दै आएको हो । पार्टीले कारबाही गरेको १४ सांसदलाई संरक्षण गरेको भन्दै एमाले सभामुखसँग रुष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *