सुदूरपश्चिम : संसदीय दल गठन गर्ने नेकपा (एस)को तयारी, दलको नेतामा आकांक्षी धेरै

धनगढी । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दल गठन गर्ने तयारी गरेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एस)ले दलको मान्यता पाएसँगै संसदीय दल गठन गर्ने तयारी गरेको हो ।

संसदीय दल गठन लगायतका विषयमा छलफल गर्नका लागि सोमबार बैठक बस्ने आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत रहेकी नेकपा (एस)की केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

बैठक आइतबार बस्ने तयारी गरिए पनि थारु समुदायको अट्वारी पर्वले गर्दा बैठक नबोलाइएको उनले बताइन् । ‘एक पार्टीबाट फुटेर अर्को पार्टी बनिसकेपछि हामी बस्न पाएका पनि छैनौँ,’ उनले भनिन्, ‘भोलि ज्येष्ठ सदस्यबाट बैठक बोलाएर बैठक बस्दैछौँ । भोलि नै दलको नेता चयन नहुन सक्छन्‚ तर संसदीय दल गठनका विषयमा छलफल गर्छौँ ।’

वर्तमान परिस्थितिमा पार्टीलाई मिलाएर लैजान सक्ने नेतालाई संसदीय दलको नेता बनाउनुपर्ने स्थिति रहेको भन्दै मन्त्री जोशीले भनिन्, ‘दलको नेता बन्न म पनि आकांक्षी हुँला, अरु पनि होलान्, तर सहमतिमै सबैलाई मिलाएर संसदीय दल गठन हुन्छ ।’

संसदीय दलको नेताका लागि मन्त्री जोशीसहित नेकपा (एस) गठनका क्रममा सांसदहरूलाई सनाखत गराउन अन्तिमसम्म खटिएका भौतिक पुर्वाधार तथा योजना मन्त्री दीर्घ सोडारी, पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र संसदीय दलका पूर्वप्रमुख सचेतकसमेत रहेका सांसद तारालामा तामाङ आकांक्षी छन् ।

दलका नेताका आकांक्षीमध्ये मन्त्री जोशी र पूर्वमन्त्री भट्ट पार्टीको केन्द्रीय सदस्यसमेत हुन् । यस्तै मन्त्री सोडारी यसअघि नेकपा एमाले कैलालीका अध्यक्ष थिए भने र तामाङ कञ्चनपुरका अध्यक्ष थिए ।

पार्टी स्रोतका अनुसार संसदीय दलको नेताका लागि मन्त्री सोडारी र सांसद तामाङबीच नै प्रतिस्पर्धा हुने प्रवल सम्भावना छ ।

१४ सांसदसहित सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको नेकपा (एस) संसदीय दलको नेता को बन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

एमालेका १४ जना सांसद नेकपा (एस)मा लागेपछि एमाले चौथो दलमा खुम्चिएको छ ।

तत्कालीन माधव नेपाल समूहका सांसदहरू दीर्घ सोडारी, पूर्णा जोशी, माया भट्ट, तारालामा तामाङ, प्रकाश रावल, लालबहादुर खड्का, कुलवीर चौधरी, अमरबहादुर साँउद, बलबहादुर सोडारी, दुर्गा कामी, मनाकुमारी साँउद, चुनुकुमारी चौधरी, सुशील बुढाथोकी र माया तामाङ बोहराले एमाले छाडेर समाजवादी रोजेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *