एक महिना पढेर दुई हप्तामा फिल्म बनाएका किशोरी

काठमाडौँ । क्यामरा र फिल्म निर्माणको आधारभूत कुरासँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म निर्माण गरेका छन् ।  किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियान अन्तर्गत रहेर गरेको ‘फिल्ममेकिङ’ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिनाको सिकाइबाट फिल्म निर्माण गरेका छन् ।

एक महिना सिकेका उनीहरूले बाँकी दुई हप्तामा तयार गरेका फिल्म शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा प्रदर्शन गरिएको थियो । एक महिने फिल्म मेकिङ कार्यशाला अन्तर्गत उनीरुले बनाएका औसतमा ५ मिनेट अवधिका ५ फिल्मको प्रदर्शन गरिएको थियो । ‘वुमन मेक फिल्मस्’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए ।

नेपाली फिल्ममा महिलाको चरित्र चित्रण अस्वाभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ । महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको सङ्ख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयले जनाएको छ ।

किपालयकी परियोजना प्रमुख आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिएको र आवेदकबाट १० जनालाई छनोट गरिएको जानकारी गराइन् ।  सुरुमा कार्यशाला भौतिक रूपमै काठमाडौँ र चित्लाङ गरी दुई ठाउँमा गर्ने योजना रहे पनि महामारीको दोस्रो लहर आएसँगै कार्यशालामा भर्चुअल रूपमा सम्पन्न गरिएको थियो ।

कार्यशालाका परियोजना संयोजक नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्ममेकिङमा दीक्षित गर्ने प्रयास गरेको बताए । ‘एक महिना लामो तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक  प्रश्न गर्ने शिल्प सिके । यी पाँच फिल्मको प्रदर्शनले यो महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्च प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको महसुस गरेका छौँ,’ नवविजयले भने ।

प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्राचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्म बनाउन सफल भएकोमा खुसी लागेको बताइन् । ‘यति छोटो तालिमको भरमा यति राम्रा बन्लान् भन्ने सोचेको थिइन तर उनीहरूले उत्कृष्ट फिल्म बनाएका छन्,’ उनको भनाइ थियो ।

एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो । कार्यशालामा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए । १० जनाले ५ समूहमा विभक्त भई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए ।

यौनकर्मीको कथामा फिल्म बनाएकी पुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्म बनाउने कला मात्र नसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले कसरी हेर्न सकिन्छ भन्ने पनि ज्ञान दिएको बताइन् । १ महिने कार्यशालामा उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाल लगायतले प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *