कविता : ऊ एक अबोध शिल्पी

ऊ एक अबोध शिल्पी

उसले बनाउँछु भन्ने थाहै नपाइ
थुकको पिच्काबाट
सुन्दर बेलुन बनायो
खोयाको तह तह थाक मिलाएर
सुन्दर घर बनायो
बालुवाको ढिस्कोे उठाएर
शानदार महल बनायो !

बाँसको पट्याँसबाट
विमानलाई नै उछिन्ने
फिरफिरे बनायो
कागजका टुक्रा टुक्रा जोडेर
एक डल्लो धागोको लट्टाइबाट
आकाश पनि नाघ्न सक्ने चङ्गा बनायो
ती घर, महल, बेलुन, फिरफिरे र चङ्गाहरु
उसका लागि जीवनका हरेक मोडमा
यादगार ऊर्जा बनिरहे

कुपीको धुवाँ तोरीको तेलमा मुछेर
निर्दाेष र सुन्दर नयनहरु सिङ्गार्न
गाजल बनायो…
काली अँगेरीको गुदी चपाएर
ओठमा लपक्क लाग्ने लिपिस्टिक बनायो…
ढुँङ्ग्री फूल टिपेर नाकफुली, कानढुङ्ग्री र
बुलाकी बनायो…
बुकिफूल र धुपीफूल बाट मग्मगाउने
अत्तर बनायो

निर्दाेष र अबोधपनामा उलटपुलट हुँदै…
धेरै पटक धेरैवटा नागीहरुमा
ढुङ्गाका थाकहरु उठाएर मनोकामना
पूरा होला भन्ने विश्वासमा देउराली बनायो
ध्वजा पतका सजाएर देवीथान र देउता बनायो

उसका ती निस्कपट र सृजनशील आँखाहरुले
भ्याउनेजत्ति आकाशलाई
संसार मानेर वर्षेनी फुल्ने टारबारीको
तोरीको फूलझैँ पहेँलो संसार बनायो
उसको अबोधपनामा पहेँलो भन्नेबित्तिकै
उदाउँदो घामको झुल्को र बज्यैको
शीरको शीरफूलको झल्को आउँथ्यो सायद
त्यही झल्कोको प्यास मेटाउन
पहेँला सपना बनायो

उसका पितापूर्खाका यजस्वी कार्यहरुको
झल्को दिलाउने तिनै बरपिपल र चौतारी
साँक्षी राखेर मनभित्र कैयौं सपनाका
यादगार बिम्बहरु सजाउने सुन्दर फलँैचा बनायो
जो आज पनि उसको निमित्त जीवन जिउने
आधार र उत्प्रेरणा बनेर सदा सर्वदा उसलाई
घच्घच्याई रहेछन्, ब्यूँझाइरहेछन् !
अफसोस् ! उसले भावनामा कुँदेर पनि
मूर्तरुप दिन नसकेको केवल ऊ मात्रै त हो
अद्भुत शिल्पी भएर पनि उसले कुँद्न नसकेको
केवल आफ्नै बिम्ब त हो !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *