संखुवासभा सामूहिक हत्याकाण्ड : हत्या आशङ्कामा छिमेकी पक्राउ

विराटनगर । संखुवासभाको मादी नगरपालिका १ खोलागाउँमा भएको ६ जनाको हत्याको बारेमा बुझ्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जना छिमेकीलाई पक्राउ गरेको हो ।

प्रहरीले हत्या भएको ६ दिनपछि ‘क्लु’का आधारमा अनुसन्धानको क्रममा एक जनामाथि आशङ्का गरेर सोधपुछ थालेको प्रहरी श्रोतले जनाएको छ। नाम भने प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ। एकजना बाहेक प्रहरीले यो घटनामा अरू कसैलाई पक्राउ नगरेको बताएको छ । शङ्कास्पद व्यक्ति माथि अनुसन्धान अघि बढाएको प्रहरीले शुक्रबार नै एक जना छिमेकीलाई पक्राउ गरेको जनाएको छ।

सामूहिक हत्या प्रकरणमा संलग्नलाई भोलि आइतबार चैनपुरमा सार्वजनिक गर्ने प्रहरीको तयारी छ । पक्राउ परेका व्यक्ति स्थानीय छिमेकी २५ वर्षीय एक युवा भएको प्रहरी श्रोत बताउँछ । पक्राउ परेका छिमेकीको घर घटना घटेको घरबाट करिब १ सय ५० मिटरको दुरीमा रहेको प्रहरीको दाबी छ । घटना के कारणले भएको हो ? कसरी भयो ? भन्ने बारेमा भने अनुसन्धान टोलीले केही खुलाको छैन ।

डिआईजी सहितको टोली अनुसन्धानमा
घटना घटेको दिन देखि घटनास्थलमा सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीमबहादुर दाहालको टोली, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली परिचालित थियो ।

घटना भएको दोस्रो दिन देखि नै प्रदेश १ का प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसी समेतको ठूलै प्रहरी टोली घटनास्थलमा परिचालित छन् । एक जनामाथि सोधपुछ भइरहेकोले भालिसम्ममा हत्यामा संलग्न मध्ये केही तथ्य सार्वजनिक गर्ने तयारी रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविन राईले बताए । मादी नगरपालिका-१ खोलागाउँमा गत सोमबार तेजबहादुर कार्की सहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *