निर्देशनमा जम्दै कल्याण अधिकारी

काठमाडौँ । तराई क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा केही सङ्ख्यामा कलाकार रहे पनि निर्देशनमा भने औलामा गन्न सक्ने व्यक्तिहरू मात्रै छन् । यस्तोमा निर्देशनमा कल्याण अधिकारी तराई क्षत्रको प्रतिनिधित्व गर्दै नेपाली चलचित्र क्षेत्रमा देखिएका छन् ।

तराईमा मुख्य त भोजपुरी र हिन्दी चलचित्र चल्ने गर्छ । तर यी दुई क्षेत्रभन्दा भिन्न अधिकारीले जनकपुरमा जन्मिएर पनि नेपाली चलचित्र जगतलाई रोजेका छन् । एक दशक यता चलचित्र क्षेत्र मै रहेका उनले रेस राज आचार्यको सहायकको रूपमा निर्देशनको यात्रा सुरु गरे । ‘संस्कार’ टेलिचलचित्रबाट नै उनले सहायक निर्देशक रूपमा काम गर्न सुरु गरे । उनी निरन्तर काम गर्दै थिए ।

तर बिचमा, पढ्नु पर्छ भन्ने लागेर उनी इन्जिनियरिङसँगै कलाकारिता अध्ययन गर्नका लागि भारत पुगे । मेकानिकल इन्जिनियर बनेर फर्किएका उनको मन त्यता भन्दा पनि कला क्षेत्र मै बस्यो । त्यसैको परिणाम स्वरूप उनले पहिलो पटक चलचित्र ‘यो पागल मन’मार्फत निर्देशकको रूपमा काम सुरु गरे ।

लकडाउन अघि उनी अर्को चलचित्र ‘त्यसका बाजे’ को समूह लिएर पूर्वी नेपाल छायाङ्कनका लागि निस्किने तयारीमा थिए । तर परिस्थितिले साथ दिएन । उनको यो चलचित्र परिस्थिति सहज हुनासाथ फ्लोरमा जाने छ । चलचित्रमा भिड चाइने भएकोले साथै सम्पूर्ण छायांकन पूर्वमा नै गर्नु पर्ने भएकोले छायाङ्कनको काम अगाडी बढ्न सकेको छैन । समग्र नेपालको परिप्रेक्षकमा कोरोना सङ्क्रमण कम हुँदै गए पनि पूर्वी नेपालका केही जिल्लामा सङ्क्रमण दर बढ्नुले पनि अधिकारीको कामलाई पछि सारेको छ ।

चलचित्र होम वर्क मार्फत चलचित्रमा सह निर्देशन सुरु गरेका अधिकारीले निर्देशन गरेको चलचित्र ‘गोबर गणेश’ छायांकन सकिएर प्रदर्शनको लागि तयार छ । तर कोरोना भाइरसका कारण चलचित्र हल बन्द भएको कारण प्रदर्शन भने हुन सकेको छैन । निर्मातासँग सल्लाह गरेर उक्त चलचित्र छिट्टै हलमा लगाउने अधिकारी बताउँछन् ।

लघु चलचित्र मार्फत अधिकारीले केही हप्ता अघि अधिकारीले उत्कृष्ट निर्देशकको सम्मान पाए । रिबन इन्टरटेनमेन्टद्वारा आयोजित कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले ६ दर्जनभन्दा बढी कलाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरेकोमा कल्याण पनि एक थिए ।

आफ्नो क्षेत्रमा खासै नेपाली चलचित्र नचल्ने भए पनि उनी तराई कै कुनै विषयलाई उठाएर चलचित्र निर्माण गर्ने तयारीमा छन् । उनको लेखनमा पनि उत्तिकै रुचि छ । यही रुचिलाई अझ सार्थक बनाउने उनको सपना आफ्नै ठाउँको कथा उठाउने छ । निर्देशनमा जम्दै गरेका अधिकारीको अभिनयमा पनि रुचि छ । उनले यस अघि केही चलचित्रमा खलनायकको भूमिकासमेत निभाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *