ओखलढुङ्गामा भाइ र भतिज मिलेर दाइको हत्या

विराटनगर । ओखलढुंगामा एक व्यक्तिको हत्या भएको छ । खिजिदेम्बा गाउँपालिका- ५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धारिलो हरियार‚ खुकुरी र दाउ प्रहार गरी हत्या भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

हत्यामा उनकै भाइको संलग्नता रहेको प्रहरीले जनाएको छ । हत्यामा उनका आफ्नै भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय बिरबहादुर तामाङ संलग्न रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो साढे १२ बजे हत्या भएको जानकारी पाएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले हत्यामा संलग्न दुवै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाउसहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

अंशबण्डाको विषयमा विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट समेत प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

उक्त स्थान जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किमि पश्चिम-उत्तर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *