देउवाको गृहजिल्लामा प्रहरी परिचालन गरी वडा अधिवेशन

जिल्ला सभापतिद्वारा बहिस्कार

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा विवादका बीच वडा अधिवेशन शुरु भएको छ ।

क्रियाशील सदस्यता वितरणको विषयमा विवाद भएपछि जिल्ला कार्यसमितिले वडा अधिवेशन बहिस्कार गरेपनि निर्वाचन समितिले भने प्रहरी परिचालन गरेर अधिवशन शुरु गरेको हो ।

जिल्लाका सातवटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया शुरु भइसकेको निर्वाचन समितिले जनाएको छ । बाँकी वडामा पनि अधिवेशन शुरु गर्न छलफल भइरहेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए ।

वडा अधिवेशन गर्न नेपाल प्रहरीको तालिम केन्द्र र दंगा प्रहरी गणबाट ठूलो संख्यामा प्रहरी डडेल्धुरा झिकाइएको छ ।

अधिवेशन गर्ने विषयमा ठूलो विवाद देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए ।

No description available.

कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटुंग्याएर बल प्रयोग गरेर गरिएको अधिवेशनमा आफूहरूको सहभागिता नहुने बताए ।

सभापति देउवा पक्षधरले एकलौटी रूपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ ।

कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेको आरोप छ ।

त्यस्तै लिस्टमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको हो । यसअघि कांग्रेसका दुई समूहबीच कुटाकुटसमेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *