मुख्यमन्त्री आचार्यविरुद्ध आउला अविश्वास प्रस्ताव ?

विराटनगर । नेकपा एमालेबाट भीम आचार्य मुख्यमन्त्री भएसँगै नेकपा एमाले विभाजनमा पुग्यो । २२ गतेसम्म दल छान्नका लागि निर्वाचन आयोगलेले दिएको समयसीमामा १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । नेकपा एमालेको ५१ जना सांसद रहेको प्रदेश १ मा नेकपा एकीकृत समाजवादी रोज्ने सांसदकोे संख्या १० जना देखिएपछि अहिले नेकपा एमालेको सरकार अल्पमतमा परेको छ ।

दलहरूको कुरा बाझियो

प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अविश्वासको प्रस्ताव ल्याइहाल्ने अवस्था नरहेको बताएको छ‚ तर नेकपा माओवादी केन्द्रले भने विश्वासको मत लिने प्रक्रिया शुरु नगरे एक हप्तापछि अविश्वासको प्रस्ताव ल्याउने बताउँदै आएको छ । प्रदेश १ मा ठुलो प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादीको बिचमा फरक कुरा आएपनि नेकपा एकीकृत समाजवादीले पनि अविश्वासको प्रस्ताव ल्याउने छनक दिएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले निर्वाचन आयोगबाट नेकपा एकीकृत समाजवादीको आधिकारिकता आएको ३० दिनभित्र विश्वासको मत लिने समय रहेकाले तत्कालै सम्भावना नरहेको बताए । नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता छानेपछि बल्ल के गर्ने भन्ने तय हुने भएकाले अहिले अविश्वासको प्रस्ताव ल्याउनेबारेमा कुनैपनि छलफल नभएको कोइरालाले बताए ।

नेकपा एकीकृत समाजवादीले अहिलेसम्म प्रदेश सभामा दलको आधिकारिता पाइसकेको छैन । दलको हैसियतमा आधिकारिकता पाएपछि मात्र गठबन्धनको बैठक बसेर अविश्वासको प्रस्ताव ल्याउने या नल्याउने भन्ने टुङ्गो लाग्ने विपक्षी गठबन्धनको भनाइ छ ।

माओवादीले भने मुख्यमन्त्रीको दल विभाजन भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानअनुसार त्यो मितिसम्म पर्खिने बताएको छ । माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले अबको एक हप्तासम्म पनि मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनको लागि प्रक्रिया थालेनन् भने एक हप्तापछि आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने दाबी गरे ।

असोज पहिलो सातासम्ममा विश्वासको मत लिनुपर्ने भएकाले त्यसका लागि यो महिनाभित्र अधिवेशन आह्वान गरेर आफैँ विश्वासको मत लिनतर्फ गए अविश्वासको प्रस्ताव नल्याउने‚ अन्यथा अविश्वासको प्रस्ताव ल्याउन बाध्य हुने आङ्बोको भनाइ छ ।

भदौ ९ गते मुख्यमन्त्रीको दल विभाजन भएकाले असोज ८ गते एक महिनाको अवधि पूरा हुने उनले बताएका छन् । ‘एक हप्ताभित्र विश्वासको मत लिने प्रक्रिया शुरु गर्नुभएन भने एक हप्तापछि हामी अविश्वासको प्रस्ताव ल्याउँछौँ,’ आङ्बोले भने, ‘मुख्यमन्त्रीले विश्वासको मत लिने समय भनेको असोज ८ गतेसम्म हो ।’ मुख्यमन्त्री आचार्यले अल्पमतमा परेकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने समेत बताएका छन् ।

गत भदौ १० गते मुख्यमन्त्री बनेका भीम आचार्यले आफूले राजीनामा नदिने बताउँदै आएका छन् । प्रदेश सभामा दलको आधिकारिकता पाएको एक महिना समयसीमा रहने भएकाले आधिकारिकताको पर्खाइमा मुख्यमन्त्री देखिएका छन् । उनले अब निर्वाचन आयोगले प्रदेश सभामा दिएको पत्रलाई आधार मानेर एक महिनाभित्र विश्वासको मत लिने मुख्यमन्त्री आचार्यको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *