ढुंगा विस्फोट गरेर एकसातापछि खुल्यो मध्यपहाडी लोकमार्ग

पोखरा । भदौ १७ गतेको बाढी पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड १ सातापछि सुचारु भएको छ । पर्वतको चुवा र भ्याप्लेमा गएको पहिरोले सडक क्षतविक्षत भएको थियो ।

बिहीबार साँझदेखि एकतर्फी रुपमा सडक सञ्चालन भएको पर्वत प्रशासन कार्यालयले जनाएको छ । बाढीले करिब ९ किलोमिटर लामो सडकमा क्षति पुगेको थियो । ठूला ढुंगाहरूसमेत सडकमा झरेको र त्यसलाई विस्फोट गरेर हटाइएको छ ।

सडक निर्माणको ठेक्का पाएको लामा कन्स्ट्रक्सन, नेपाली सेना, प्रहरी लगायतले निरन्तर काम गरेपछि एउटामात्रै गाडी छिर्नेगरी सडक सञ्चालनमा आएको हो । बाटो खुलेपछि रोकिएका सबै गाडीहरू गन्तव्यतर्फ लागेका छन् । बाटो रोकिएपछि धवलागिरीका ४ जिल्लामा यातायात अवरुद्ध भएको थियो । खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थसमेत अभाव हुन थालेको थियो ।

बाटो खोल्न ७ वटा एक्साभेटर र अन्य मेसिन प्रयोग गरिएको थियो भने दैनिक विस्फोटक पदार्थ प्रयोग भएको थियो । यो बाटो मुस्ताङको कोरलादेखि बागलुङ ढोरपाटनसम्मको नाका हो । अहिले मध्यपहाडी लोकमार्गअन्तर्गत यहि सडक स्तरोन्नती गरेर काम गरिएको छ । पोखरा बागलुङ खण्ड भने यसअघि भूपी शेरचन राजमार्गको रुपमा परिचित थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *