प्रदेश २ : एमालेभन्दा एकीकृत समाजवादी ठूलो‚ दोस्रोबाट पाँचौंमा झर्‍यो एमाले

जनकपुरधाम । प्रदेश- २ को प्रदेश सभामा दोस्रो ठूलो दलको रुपमा रहेको नेकपा एमाले दल विभाजनपछि पाँचौं दलको रुपमा झरेको छ । एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादी प्रदेश २ मा चौथो दल बनेको छ ।

विभाजनअघि एमाले २३ सांसदसहित दोस्रो ठुलो दल थियो । प्रदेश- २ को प्रदेश सभामा हाल एमालेसँग आठ सांसद रहेका छन् भने नेकपा एकीकृत समाजवादीसँग १३ सांसद छन् ।

दुईवटा दल विभाजन भएपछि प्रदेश २ को समीकरण पनि फेरिएको छ । यसअघि पाँचवटा दल प्रदेश २ प्रदेश सभामा अस्तित्वमा रहेकोमा अब सातवटा दल पुगेको छ ।

अब प्रदेशसभामा जसपा नेपालका ३८, नेपाली कांग्रेसका १९, लोकतान्त्रिक समाजवादी पार्टीका १६, नेकपा एकीकृत समाजवादीका १३, नेकपा माओवादी केन्द्रका ८, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

यसअघि प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालसँग ५५, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९, नेकपा माओवादी केन्द्रसँग ८ र नेपाल संघीय समाजवादी पार्टीसँग एक सांसद थिए ।

दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टीका रुपमा दुई नयाँ दल अस्तित्वमा आएका छन् ।

जसपा नेपालबाट विभाजित भएर महन्थ ठाकुर नेतृत्वमा बनेको लोसपामा १६ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् भने नेकपा एमाले विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादीमा १३ जना प्रदेश प्रदेशसभा सदस्यहरूले सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेश २ को प्रदेशसभामा जसपा पहिलो राजनीतिक शक्तिको रुपमा कायम छ भने दोस्रो ठूलो दलका रुपमा कांग्रेस छ । लोसपा तेस्रो, नेकपा एकीकृत समाजवादी पार्टी चौथो शक्तिको रुपमा कायम भएको छ भने नेकपा माओवादी केन्द्र र नेकपा एमाले भने समान सांसद संख्याका साथ पाँचौं दल बनेका छन् ।

पार्टी विभाजनपश्चात् निर्वाचन आयोगले विभाजित दलका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्ने समयसीमा दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *