सुदूरपश्चिममा नेकपा (एस) : प्रदेशमा पहिलो‚ पालिकामा कमजोर

२ सय २३ जनप्रतिनिधिले गरे सनाखत

धनगढी । सुदूरपश्चिम प्रदेशबाट ६ जना संघीय सांसदसहित दुई सय २३ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि निर्वाचन आयोगले दल रोज्न भदौ २२ (मंगलबार)सम्मका लागि दिएको समयावधिसम्ममा सुदूरपश्चिममा दुई सय २३ जनप्रतिनिधिले नेकपा (एस)मा सनाखत गरेका हुन् ।

समाजवादी रोज्नेमा सबैभन्दा बढी ६५ जना कैलालीमा र सबैभन्दा कम डडेल्धुरा र दार्चुलामा दुई/दुई जना छन् । सबैभन्दा बढी जनप्रतिनिधिले नेकपा (एस) रोजेको कैलालीमा एमालले सातवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख जितेको थियो । त्यसमध्ये तीन स्थानीय तहका उपप्रमुखसहित ६५ जनाले नेकपा (एस) रोजेका हुन् ।

नेकपा (एस) रोज्नेमा घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमकुमारी थापा, गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगरसहित ६५ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा प्रमुख र उपप्रमुखसहित जनप्रतिनिधि एमालेमै छन् ।

कञ्चनपुरबाट एक स्थानीय तहका प्रमुखसहित ५१ जनाले नेकपा (एस) रोजेका छन् । जिल्लाको पुनर्वास नगरपालिकाका मेयर जीवन थापा र ११ जना वडाध्यक्षसहित ५१ जना एमालेबाट निर्वाचित जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएको छ ।

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले पाँच वटामा प्रमुख र सात वटामा उपप्रमुख जितेको थियो ।

यस्तै, एमाले उपाध्यक्ष डा. भीम रावलको गृहजिल्लासमेत रहेको अछाममा दुई पालिकाका प्रमुखसहित २७ जनाले नेकपा (एस) रोजेका छन् । नेता रावल गृहनगरसमेत रहेको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर, उपमेयर बिर्मलादेवी बुडथापा र चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदसहित २७ जना जनप्रतिनिधिले नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १० स्थानीय तह रहेको अछाममा तीन स्थानीय तहमा एमालेले प्रमुख पदमा जितेको थियो ।

यसअघि माधव नेपाल समूहमा रहेका एमाले केन्द्रीय सदस्य भानुभक्त जोशीको गृहजिल्ला बझाङमा २५ जना जनप्रतिनिधिले नेकपा (एस) रोजेका छन् । केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारी र उपाध्यक्ष निशा धामीसहित २५ जनाले एकीकृत समाजवादी रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । १२ स्थानीय तह रहेको बझाङमा एमालेले ८ स्थानीय तहमा प्रमुख-उपप्रमुख र एक स्थानीय तहमा उपप्रमुखमात्रै जितेको थियो ।

बैतडीमा २३ जना जनप्रतिनिधिले नेकपा (एस) रोजेका छन् । जिल्लामा चार जना वडाध्यक्षसहित २३ जनाले नेकपा (एस) रोजेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ स्थानीय तहका प्रमुख पदलमा रहेका कसैले पनि नयाँ दल रोजेनन् । १० स्थानीय तह रहेको बैतडीमा तीन स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुख र अन्य दुई स्थानीय तहमा उपप्रमुखमा जित हात पारेको थियो ।

बाजुरामा एक स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर पाँच जनाले नेकपा (एस) रोजेका छन् । बाजुराका नौँ स्थानीय तहमध्ये एमालेले तीनवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पद र एक नगरपालिकामा उपप्रमुख पदमा जितेको थियो ।

डोटीमा एक स्थानीय तहका प्रमुख र दुई स्थानीय तहका उपप्रमुखसहित तीन जना जनप्रतिनिधिले नेकपा (एस)मा सनाखत गरेका छन् । नौँ स्थानीय तह रहेको डोटीमा एमालेले पाँचवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी दुवै पद र एक गाउँपालिका उपाध्यक्ष जितेको थियो ।

दार्चुलामा दुई जना जनप्रतिनिधिले नेकपा (एस) रोजेका छन् । जिल्लाको अपी हिमाल गाउँपालिकाका सदस्य रुकमति जागरी र भुरी धामीले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । नौँ स्थानीय तह रहेको दार्चुलामा एमालेले तीन स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै र एक गाउँपालिकामा उपाध्यक्ष जितेको थियो ।

डडेल्धुरामा पनि दुईजना जनप्रतिनिधिमात्रै नेकपा (एस) मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सातवटा स्थानीय तह रहेको डडेल्धुराका दुई स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो ।

सुदूरपश्चिममा स्थानीय तहमा नेकपा (एस) रोज्ने एमालेबाट निर्वाचित जनप्रतिनिधिको संख्या तुलनात्मक रुपमा कम देखिएको छ । स्थानीय तहमा एमाले नै बलियो बनेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा भने नेकपा (एस) १४ सांसदसहित ठूलो दल बनेको छ । सभामुखबाहेक २४ सांसद रहेको एमालेबाट १४ सांसदले नेकपा (एस)मा सनाखत गरेका छन् । एमाले विभाजनपछि आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, भौतिक पुर्वाधार विकासमन्त्री दीर्घ सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, राज्यमन्त्री चुनुकुमारी चौधरी, मनाकुमारी साउँद, पूर्वमन्त्री माया भट्ट, पूर्वराज्यमन्त्री प्रकाश रावल, एमाले प्रमुख सचेतक दुर्गा कामी, पूर्वप्रमुख सचेतक तारालामा तामाङ, अमरबहादुर साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी र माया तामाङ बोहराले समाजवादीमा सनाखत गरिसकेका छन् ।

सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने ६ जना संघीय सांसदले यसअघि नै निर्वाचन आयोगमा सनाखत गरिसकेका छन् । एमालेबाट निर्वाचन संघीय सांसद प्रेम आले, शेरबहादुर कुँवर, निरा जैरु, बिना बुढाथोकी, लक्ष्मी चौधरी र शारदा भट्टले नेकपा (एस)मा सनाखत गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *