मारुती सिमेन्टको जग्गा विषयमा छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले वनको जग्गा अतिक्रमण गरेको विषयमा छानबिन गर्न प्रदेश २ सरकारले छानबिन समिति गठन गरेको छ । सो विषय छानबिनका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयले सात सदस्यीय समिति गठन गरेको हो ।

जनकपुरमा आमरण अनसन बसेको चुरे अभियान्ताहरू र प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवबीच भएको सम्झौताअनुसार छानबिन समिति गठन भएको हो । मन्त्रालयका उपसचिव नन्दलाल राय यादवको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको हो ।

प्रदेश सचिव डा. रामचन्द्र कडेँलले छानबिन गरी प्रतिवेदन पेश गर्न समिति संयोजक वन संरक्षण/व्यवस्थापन अधिकृतसमेत रहेका उपसचिव यादवलाई पत्राचार गरेका छन् । समितिले २१ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनुपर्नेछ ।

जिल्ला वन कार्यालय लहान, सिराहाले वृक्षारोपणका लागि खरिद गरेको बिरुवामा गरेको भ्रष्टाचारको छानबिन गर्नुपर्ने र आन्दोलनका बेला वन कार्यालयले चुरे अभियानीमाथि लगाएको मुद्दा फिर्ता लिनुपर्ने माग पनि अनसन बसेका अभियानीले राखेका थिए । यो विषयमा पनि छानबिन गरी आवश्यक प्रक्रिया थाल्ने सम्झौता मन्त्री यादवले गरेका छन् । त्यसैले यो विषयमा पनि गठित समितिले छानबिन गर्ने बुझिएको छ ।

यस्तै क्रसर माफियाद्वारा हत्या गरिएका धनुषा ढल्केबरका दिलिप महतोलाई पर्यावरण शहीद घोषणाका लागि पहल गर्ने पनि सम्झौतामा उल्लेख छ । तर यस विषयमा उद्योग, पर्यटन तथा वन मन्त्रालयले केही उल्लेख गरेको छैन ।

मन्त्री यादवले भदौ ५ मा चुरे तथा वन जंगल संरक्षण अभियानका सल्लाहकार सरोज रायसँग पाँच बुँदै सम्झौता गरेपछि जनकपुरको जनकचोकमा आमरण अनसन बसेका अभियानी रानी राय र अमन यादवले अनसन तोडेका थिए । मारुती सिमेन्टले वनको करोडौँ पर्ने जग्गा अतिक्रमण गरेकाले फिर्ता ल्याउने निकाय नै मौन बसेको आरोप अभियान्ताहरूको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *