प्रदेश १ : कोरोना बिमा भुक्तानी माग्दै पत्रकार महासंघद्वारा अदालतमा रिट

विराटनगर । सम्झौताबमोजिम बिमा रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सोमबार महासंघ मोरङ शाखाको तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

नेपाल पत्रकार महासंघ र अजोड इन्स्योरेन्स कम्पनीबीच द्विपक्षीय सम्झौता भई मोरङका २०० जना बढी पत्रकार र उनीहरूका परिवारका सदस्यहरूको बिमा गरिएको थियो । त्यसमध्ये ५१ जना बिमितहरूमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए ।

बाँकी ३१ जनाले बिमा दाबी भुक्तानी नपाएको र भुक्तानी दाबी माग गरेको १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो भुक्तानी दिन नसक्ने व्यहोराको पत्र पठाएको थियो ।

अजोड इन्स्योरेन्सले जारी गरेको बिमालेख तोकिएको अवधिसम्म कुनैपनि हालतमा खारेज गर्न नसकिने, पीसीआर टेस्ट पोजेटिभ देखिएमा संक्रमित व्यक्तिलाई १ लाखसम्मको दाबी भुक्तानी दिने, बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बिमितले रितपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौता गरेको छ । तर‚ कम्पनीले सात दिनभित्र भुक्तानी दिइसक्नुपर्ने रकम १० महिना बितिसक्दा पनि दिएको छैन ।

त्यसअघि नेपाल पत्रकार महासंघले बिमा रकम भुक्तानी नहुनुको कारण माग गर्दै पत्राचार गरेको थियो । त्यसको जवाफमा नेपाल सरकारसँग रकम माग गरेको र सरकारले उपलब्ध गराएपछि मात्र भुक्तानी दिनसक्ने बताएको थियो ।

कम्पनीको नियमअनुसार आवश्यक प्रिमियम तिरेर बिमा गरेका बिमितहरूलाई भुक्तानी दिन नसकिने भन्ने गैरजिम्मेवार जवाफ दिएपछि नेपाल पत्रकार महासंघले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दायर गरेको हो ।

रिट निवेदनमा अजोड इन्सोरेन्ससँग बिमा सम्झौता गर्दा कोरोना मापदण्ड २०७७ बमोजिम दाबी भुक्तानीका लागि बिमकलाई आदेश निर्देशन दिने तथा नेपाल सरकारसँग समन्वय गरिदिने जिम्मेवारी भएको बिमा समिति, सरकारको नीतिलगायतका प्रतिबद्धताबमोजिम समयमा आवश्यक रकम बन्दोबस्त गरिदिने जिम्मेवारी भएको अर्थ मन्त्रालय र नेपाल सरकार मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाइएको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटमा कोरोना बिमा गर्नका लागि प्रिमियमको आधार रकम भुक्तानी गरिदिने घोषणा गरेपछि लाखौँ नागरिकले कोरोना बिमा गराएका थिए ।

त्यसमध्ये एक लाखभन्दा बढीले बिमा रकम दाबी गर्दै भुक्तानी मागेका थिए । अहिलेसम्म झण्डै ३५ हजार संक्रमितले बिमा दाबी भुक्तानी लिइसकेका छन् । अहिले पनि देशभर ७० हजारभन्दा बढीले बिमा रकम भुक्तानी पाउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *