मिश्र र पाण्डे पद छाड्न तयार होलान् ?

काठमाडौँ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव मार्ग परिवर्तन’ अघि सारेपछि सतहमा देखिएको विवेकशील साझा पार्टीभित्रको विवाद आकासिँदो छ ।

०७७ मंसिर २४ गतेमात्रै दोस्रो एकतामा बाँधिएका साझा पार्टी र विवेकशील नेपाली दल फेरि फुटोन्मुख बनेको स्वयम नेताहरु नै स्वीकार्न थालेका छन् ।

अध्यक्ष मिश्रले जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि मात्रै सतहमा देखिएको भएपनि विवेकशील साझा पार्टीमा पहिल्यैदेखि  नै  विवाद भुसको आगोका रुपमा रहेको नेताहरु  बताउँछन्  । अध्यक्ष मिश्रको प्रस्तावको ‘काउन्टर’ प्रस्तावको रूपमा संयोजक पाण्डेसहितका नेताले अर्को दस्तावेज ल्याएपछि पार्टीमा दुई पक्षबीचको दूरी बढेको छ ।

यसबीचमा अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बोलाए । बहुमतमा देखिएको अध्यक्ष मिश्रले बोलाएको बैठकले ‘पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी’ दियो भने संयोजक पाण्डेले बोलाएको बैठकमा समीक्षा र पार्टीको गतिरोधबारे छलफल भयो, कुनै ठोस निर्णय भएन ।

यसैबीच यथास्थितिबाट बचाएर पार्टीलाई कसरी अगाडि बढाउने भन्नेबारे नेताहरू  समस्यामा रहेका बेला पार्टीका केन्द्रीय सचिवालय सदस्य केशव दाहालले नयाँ प्रस्ताव अघि सारेका छन् । उनले आउँदो महाधिवेशनसम्मका लागि नेतृत्वले पद छाड्ने लगायत प्रस्ताव गरेका छन् ।

मिश्र र पाण्डे पद छाड्न मञ्जुर छन् ?
नेता दाहालको प्रस्ताव अध्यक्ष र संयोजकले मानेको खण्डमा तत्कालका लागि पार्टी सुरक्षित रहन सक्ने भएकाले यो मान्नुपर्ने दबाब पार्टिभित्र बढेको छ ।  तर के मिश्र र पाण्डेले यो प्रस्तावमा मञ्जुरी जनाउलान् ? पाण्डेनिकट एक नेता भन्छन्, ‘यो प्रस्ताव एकदमै राम्रो प्रस्ताव हो‚ संयोजकले त मान्नुहुन्छ । अध्यक्षले चाहिँ चाहिँ गाह्रो छ कि भन्ने लाग्छ ।’

अहिलेको पार्टीभित्रको विवाद ‘पदकै लडाइँ’ हो भन्ने झल्को दिने उनी बताउँछन् । ‘अहिले पनि पार्टीभित्र त्यत्रो लड्नुपर्ने अनि छुट्टाछुट्टै बैठक बसाउनुपर्ने अवस्था थियो  जस्तो लाग्दैन,’ ती नेताले भने, ‘अन्ततः यो पदकै लागि गरिएको हो भन्ने लागेको छ । यसले न लड्ने व्यक्तिलाई फाइदा गर्छ, न समग्र पार्टीपंक्तिलाई नै ।’

पाण्डेनिकट नेता महेश पाठक पनि यो कुरा मान्छन् । ‘मिलनजीको तर्फबाट त भन्न सक्छु,’ नेता पाठकले भने, ‘उहाँले पद छोड्न सक्नुहोला । तर, रवीन्द्रजीको तर्फबाट यो काम हुन धेरै गाह्रो छ जस्तो लाग्छ ।’

त्यसो त गत बिहीबार भर्चुअल रूपमा बसेको पार्टीको केन्द्रीय समिति बैठकमा समेत अध्यक्ष र संयोजकले तत्कालका लागि पद छाड्नेबारे छलफल भएको थियो । उक्त बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष मिश्रले त्यतिबेलै असहमति जनाएका थिए । ‘अस्तिको बैठकमा अध्यक्षज्यूले बोल्नुभएको सुन्दै उहाँ यो प्रस्तावमा तयार हुनुहुन्न भन्ने थाहा पाएको छौँ,’ ती नेताले भने ।

पद छाड्नु समाधान नभएको मिश्रनिकट एक नेताको जिकीर छ । ‘पद छाड्दैमा समस्याको समाधान हुन्छजस्तो लाग्छ र तपाईंलाई ?’ नेता दाहालको प्रस्ताव मान्न अध्यक्षज्यू तयार हुनुहुन्छ ? भन्ने मकालुखबरको जिज्ञासामा ती नेताको प्रतिप्रश्न गरे । ‘पद छाड्नु भनेको पार्टीमा झनै गतिरोध निम्त्याउनु हो’ उनको दाबी छ, ‘पार्टीलाई झनै दह्रोखह्रो रूपमा अगाडि बढाउने हो नि । कहाँको पद छाडेर पार्टी जोगाउने कुरा हुन्छ ?’

‘अध्यक्ष र संयोजकको मञ्जुर भए समस्याको समाधान’
प्रस्तावकर्ता नेता दाहाल अध्यक्ष मिश्र र संयोजक पाण्डेले आउँदो महाधिवेशनसम्मका लागि पद छाडेर राजीनामा दिए समस्याको समाधान निस्कने ठान्छन् । ‘विवेकशील साझा पार्टीभित्र देखिएको अहिलेको विवाद व्यक्तिगतजस्तै भयो,’ नेता दाहालले मकालुखबरसँग भने, ‘फेरि यो केको कारणले आयो त भन्दा त्यही पद र शक्तिका कारण हो । यसो हुँदा कमसेकममा पनि उहाँहरुले आउदो महाधिवेशनसम्मका लागि पद छाड्नुभयो भने पार्टीभित्र देखिएको विवाद तत्कालका लागि समाधान हुन्छ ।’

नेतृत्वले पद छाडे अन्य कुनै नेताको संयोजकत्वमा छुट्टै महाधिवेशन समिति बनाएरु महाधिवेशन गरि समस्याको समाधान दीर्घकालीन रूपमा हुनसक्ने दाहालको विश्वास छ ।

‘पद र शक्तिकै कारण पार्टी विग्रहतिर गएको’ भन्दै नेता दाहाल थप्छन‚ ‘कमसेकम महाधिवेशनसम्म पार्टीलाई सुरक्षित राख्न सकिएको भए पनि त्यहाँदेखि उता एक हिसाबले पार्टीलाई ‘रन’ गराउन सकिन्थ्यो ।’

‘यो प्रस्ताव निकासको रामवाण होइन’
मिश्रनिकट नेता प्रकाशचन्द्र परियार नेता दाहालको प्रस्ताव निकासको रामवाण नभएको टिप्पणी गर्छन् । ‘यो प्रस्तावले एउटा बहस भने उठाउँछ,’ नेता परियार भन्छन्, ‘तर, समाधान भने गर्न सक्दैन । निकास भने दिँदैन । यो प्रस्ताव निकासको रामवाण होइन ।’

पछिल्लो समय अनर्गल प्रचार गर्न थालिएको नेता परियारको आरोप छ । ‘सामाजिक सञ्जालहरूमा अनर्गल प्रचार गरेर त समस्याको समाधान नै हुँदैन नि,’ उनीभन्छन्, ‘आपसमा सल्लाह गरेर, साझा सहमति बनाएर, साझा प्रस्ताव बढाएर समाधान निस्कन्छ । एकलौटी रूपमा प्रचारमात्रै गरेर कहाँ समाधान निस्कन्छ र ?’

अहिले आफूहरूको ध्याउन्न संयुक्त बैठकमा भएको र संयुक्त बैठक नबसेसम्म समाधान नहुने बरु संयुक्त रूपमा प्रस्तावहरू बनेपछि मात्रै समाधान हुने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *