सुदूरपश्चिम : चौथोमा झर्‍यो पहिलो पार्टी एमाले

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले चौथो दल बनेको छ । आइतबार थप तीन सांसदले एमाले परित्याग गर्दै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि एमाले चौथोमा झरेको हो ।

नेकपा (एस) मा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्वप्रदेश राज्यमन्त्री प्रकाश शाह र पूर्व सचेक तारालामा तामाङले सनाखत गरेका छन् । यसअघि उनीहरु एमाले उपाध्यक्ष भीम रावलको विश्वास पात्रका रुपमा चिनिन्थे । सांसदले सनाखत गरेपछि नेकपा (एस) का प्रदेश सांसदको संख्या १३ पुगेको छ ।

यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्वमन्त्री माया भट्ट, सांसदहरू सुशीला बुढाथोकी, कुलवीर चौधरी, अमर साउँद र बलबहादुर सोडारीले सनाखत गरेका थिए ।

१३ सांसदले नेकपा (एस)मा सनाखत गरेसंगै नेकपा एमालेका सांसद संख्या ११ मा झरेको छ ।

नयाँ पार्टीमा सनाखत गर्ने मन्त्री सोडारीले अझै अझै एक/दुई जना सांसदले नेकपा एसमा सनाखत गर्ने दाबी गरेका छन् ।

ढिलोगरी सनाखत गरेपनि मन्त्री सोडारी पार्टी विभाजन भएदेखि नै नेकपा (एस)मा खुलिसकेका थिए । सांसदहरूलाई नेकपा (एस) मा तान्न सक्रिय रहेका सोडारीले सुदूरपश्चिम प्रदेशमा नेकपा (एस) सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गरे । ‘सांसदको संख्या १५ सम्म पुग्नसक्छ । केही सांसदसंग छलफल भइरहेको छ’ उनले भने ।

सोडारीसहितका नेताहरुले यसअघि नेपाल समूहमै रहेका र ओली समूहमा रहेका केही सांसदसँग कुरा गरिरहेको बताइएको छ ।  १३ सांसदको सनाखतसँगै नेकपा (एस) र माओवादी केन्द्रका सांसद बराबरी भएका छन् ।

एमाले र माओवादी पहिलो र दोस्रो नम्बरमा आउँदा १२ सांसदसहित नेपाली कांग्रेस तेस्रो ठूलो दलका रुपमा कायमै छ । ११ सांसदसहित एमाले चौथो र दुई सांसदसहित जनता समाजवादी पार्टी (जसपा) पाँचौं स्थानमा छन् ।

साथ गुमाउँदै रावल

आइतबार नेकपा (एस)मा सनाखत गरेका सांसदमध्ये पूर्वराज्यमन्त्रीसमेत रहेका प्रकाश रावल पार्टीमा विवाद देखिएका बेला माधव नेपाल पक्षमै थिए । तर, नेपालको नेतृत्वमा नेकपा (एस) गठन भएपछि उनले आफू एमालेमै रहेको बताएका थिए । ओली समूहमा लागेका सांसदहरुले पनि उनलाई आफ्नो लिस्टमा राखिसकेका थिए ।

तर, आइतबार उनी एक्कासी नेकपा (एस)मा सनाखतका लागि धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा देखिए । मन्त्री सोडारीसँगै उनले पनि नेकपा (एस)मा सनाखत गरे । यस्तै सांसद तामाङले पनि यसअघि भदौ १५ गतेनै सनाखत गर्ने भनिएको थियो ।

तर उनी अन्तिमसम्म पनि नआएपछि उनी एमालेमै रहने हुन कि भन्ने आशंका पैदा भएको थियो । यद्यपी उनले आफू २२ गते भित्रै सनाखत गर्ने बताइरहेका थिए । योबीचमा उनले संसदीय दलका नेताका लागि बार्गेनिङ गरिरहेको विषय पनि बाहिरिएको थियो ।

तर उनले ती सबै कुरालाई गलत पुष्टि गर्दै अन्तिममा नेकपा (एस) मा सनाखत गरेका छन् । नेकपा (एस) मै सनाखत गर्ने भनिएकी राज्यमन्त्री अर्चना गहतराजले भने आफू एमालेमै रहेको बताइसकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *