जेठ २ मा फर्कियो मोरङ एमाले, भदौभित्र सबै पालिकामा कार्यान्वयन गर्ने

विराटनगर । मोरङ जिल्लामा नेकपा (एमाले) ०७५ जेष्ठ २ गतेको अवस्थामा फर्किएर छ । एमाले विभाजनसँगै पहिलो पटक विराटनगरमा जिल्ला सचिवालयको बैठक बसेर एमाले ०७५ जेष्ठ २ को अवस्थामा रहेको कमिटीलाई ब्युँत्याउने निर्णय गरेको हो ।

एमालेको शनिबार (आज) विराटनगर पार्टी कार्यालयमा बसेको जिल्ला सचिवालयको बैठकले जेष्ठ २ को समिति ब्युँताउने निर्णय गरेको हो । एमाले ०७५ जेष्ठ २ गते माओवादीसँग एकीकरण भएको समयमा मोरङ जिल्ला कमिटीको अध्यक्षमा विनोद ढकाल, उपाध्यक्ष रामलाल साह र सचिव ऋषिकेश पोखरेल भएको कमिटी ब्युँतिएको छ । सोही कमिटीको सचिवालयको बैठक पनि सम्पन्न भएको हो ।

पार्टी केन्द्रको निर्णय र १० बुँदे कार्यान्वयनका लागि बैठकले मोरङको विशिष्ठता र आवश्यकताका आधारमा रचनात्मक तवरबाट जिल्ला माताहत रहेका गाउँ, वडा, टोलमा रहेका सबै कमिटीलाई सक्रिय बनाउने निर्णय गरेको जिल्ला सचिव ऋषिकेश पोखरेलले बताए ।

पार्टी केन्द्रको निर्णय र १० बुँदे सहमति कार्यान्वयनको काम मोरङ जिल्लाबाट शुरु भएको एमालेले जनाएको छ । केन्द्रको निर्णय जिल्ला कमिटीमा कार्यान्वयन गर्दै जिल्लाका सबै कमिटीमा कार्यान्वयन गरिसक्ने निर्णय भएको पोखरेलले जानकारी दिए । ‘संस्थागत पार्टीको निर्णयलाई हामीले कहिल्यै उल्लंघन गरेका छैनौँ,’ उनले भने, ‘हाम्रो जिल्लामा यो महिनाभित्र रचनात्मक कार्यान्वयन गरी पार्टीको गतिशीलता र सदस्यको क्रियाशीलतालाई अगाडि बढाउँछौँ ।’

जिल्ला सचिवालयको बैठकले नयाँ सदस्यता वितरण र नवीकरणको कार्यलाई निरन्तरता दिने पनि निर्णय गरेको छ । पार्टीलाई गतिशील बनाउनकोे लागि केन्द्रमा भएको निर्णयलाई कार्यान्वयन गर्न सचिवालयको बैठकले जिल्लाका सबै कमिटीलाई सक्रिय बनाउने तथा २०७५ जेष्ठ २ कै अबस्थामा भदौ ३१ गते जिल्ला कमिटीको पूर्ण बैठक बस्ने निर्णय भएको जिल्ला अध्यक्ष विनोद ढकालले बताए ।

भोलि हुने अगुवा कार्यकर्ताको भेलालाई भव्य सम्पन्न गर्ने बारेमा पनि छलफल भएको उनले जानकारी दिए । बैठकले जनप्रतिनिधि, पार्टी नेता कार्यकर्तालाई विभाजनको पक्षमा नलाग्न र एकताबद्ध पार्टी निर्माणमा लाग्न आह्वान गरेको छ ।

प्रमुख अतिथि बन्न पुगेका मुख्यमन्त्री भीम आचार्यले पार्टीलाई एक बनाइ आगामी चुनाव जित्नेगरी लाग्न उनले आग्रह गरे । अहिलेको अवस्था केही समस्या जस्तो देखिएपनि त्यसको कुनै अर्थ नरहने भएकोले एमालेजनलाई एक बनाएर आगमी चुनाव लक्षित कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिए ।

बैठकका मुख्यमन्त्रीसमेत रहेका आचार्यसँगै पोलिटब्यूरो सदस्य लालबाबु पण्डित, भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु जीवन घिमिरे, गुरु बराल, शिवमाया तुम्वाहाम्फेलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *