छुनुमुनु तिम्ल्याहा 

विराटनगर । झापाको मेचीनगर नगरपालिकाकी निर्मला विष्ट रिजालले एकै पटक तीन सन्तान जन्माइन् । उनको कोखबाट २०७७ असोज ५ गते २ छोरा र १ छोरी जन्मिइन् ।

मेचीनगर नगरपालिका- ९ धुलावारीकी २५ वर्षीया निर्मलाको मनमोहन अस्पताल बिर्तामोडमा शल्यक्रियापछि जन्मिएका हुन्- साइमनजंग रिजाल, साइना रिजाल र सियोनजंग रिजाल । जन्मँदा साइना २ किलो १ सय ग्राम, साइमनजंग किलो र सियोनजंग रिजाल १ किलो ६ सय ग्रामका थिए । शल्यक्रियामा मनमोहन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. एकराज गौतम नेतृत्वको टिम संलग्न थियो ।

तीनजना शिशुलाई ९ महिनासम्म गर्भमा बोक्न निर्मलालाई थामिनसक्नुको सकस त थियो नै, सकुशल जन्माउन पनि चुनौती थियो । सकुशल जन्मेपछि उनीहरूलाई हुर्काउन निकै नै सकस भएको उनीहरुका बुबा सुरेन बताउँछन् ।
उनीहरुलाई हुर्काउन परिवारका सबै सदस्यका साथै एकजना सहयोगी पनि राख्नुपरेको मकालुखबरलाई बताए । ‘६ महिनासम्म दुईजना बुढाबुढी नै मिलेर गरियो, बच्चा अलिक ठुला हुँदै गएपछि एकजना सहयोगीलाई पनि राखेका छौँ ।’

तिम्ल्याहा बच्चा हुर्काउन समय नपुग्ने भएपछि बिर्तामोडमा रहेको पसल बेचेर बच्चा र सुत्केरीको स्याहारमा लागेका उनले बताए । ‘अहिले श्रीमती, दाजुभाउजु र बुबाको सहयोग भएकाले बच्चालाई हुर्काउन मद्दत मिलेको छ’ उनी भन्छन् । बच्चा अलिक ठुला भएपछि सुरेनले अहिले अर्को पसल खोलेका छन् ।

प्रायजसो जुम्ल्याहा बालबालिकामा बानी मिल्ने र दुवैले उस्तै व्यवहार गर्ने धेरैको अनुभव रहेको पाइन्छ । रुँदा दुवै रुने‚ भोक लाग्दा सँगै लाग्ने जस्ता साझा बानी हुने अनुभवीहरू बताउँछन् । तर यी तिम्लयाहामा भने त्यस्तो साझा बानी नभएको बुबा सुरेनले बताए ।

‘अनुहार मिलेपनि उनीहरूको अन्य बानी व्यहोरा भने नमिल्ने उनको भनाइ छ । उनीहरूबीचमा सुत्ने, उठ्ने, खाने, रुने, हाँस्नेजस्ता कुरा एकैसाथ नहुने उनले बताए । ‘जसलाई चोट लाग्छ या दुख्छ‚ ऊ रुन्छ । जो खुसी हुन्छ‚ ऊ हाँस्छ’, सुरेनले भने‚ ‘अनि कुनै सुत्दा कुनै उठिरहेको हुन्छ । ‘तीनै जनाले सुत्ने र उठ्ने एकै समय नभएपछि खाना खान पनि प्रायः सँगै नहुने उनी बताउँछन् । एकजना सुत्दा अर्को उठेको हुने र कहिलेकाहीँ तीनैजना एकसाथ सुत्ने र उठ्ने उनले फोनमा बताए ।

जन्म दर्तामा समस्या
धुलाबारी नगरपालिका-९ की वडा सचिव लक्ष्मी राईले तिम्ल्याहाको जन्म दर्ता बनाउन नै शुरुमा समस्या भएको बताइन् । ‘अनलाइन सफ्टवेयरमा व्यक्तिगत घटना दर्ता गर्दा एक वा जुम्ल्याहा भन्ने मात्र उल्लेख भएको थियो । उहाँहरूको तिम्ल्याहा भएकाले समस्या भएको थियो,’ राईले भनिन्, ‘हामीले पालिकामा जानकारी गराएपछि पालिकाले मन्त्रालयमा लेखेर पठाएपछि बल्ल सफ्टवेयरमा एकल, जुम्ल्याहा वा तिम्ल्याहा भनेर उल्लेख भएर आएपछि सजिलो भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *