वायु मार्गमा सबै प्रदेशसँग जोडिँदै पोखरा, सिमरा उडान शुरु

पोखरा । लामो छलफल र प्रयासपछि बुधबारदेखि पोखराबाट सिमरा सीधा उडान सुरु भएको छ । बुद्ध एयरले पहिलो पटक सिमरा फ्लाइट गरेको हो ।

सिमरा २ नम्बर प्रदेशको प्रमुख सहर हो । केही समयअघि पोखराबाटै नेपालगन्ज उडान थालिएको थियो । नेपालगन्ग लुम्बिनी प्रदेशको मुख्य सहर हो । भैरहवामा पनि पोखराले उडान भर्छ । १ नम्बर प्रदेशको विराटनगर केही समय उडेर अहिले स्थगित छ । बागमती प्रदेशको भरतपुर पोखराबाट जहाजमा उड्न सकिन्छ । कर्णाली र सुदूरपश्चिममा पनि छिटै जहाज उडाउने तयारी गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

काठमाडौंपछि पोखरा आन्तरिक उडानको हब बन्दै छ । गण्डकी सरकारले सातवटै प्रदेशका प्रमुख सहरहरुसँग हवाई रुट जोड्ने योजना बनाएको थियो । बुद्ध एयरले १८ सिटे जहाजबाट आन्तरिक उडान भरिरहेको छ । सिमरा उडान सातामा तीन दिन हुन्छ । न्यूनतम ४ हजार ७ सय ७०, देखि अधिकतम ७ हजार १ सय ७० भाडादर तोकिएको फ्लाइट पोखरा-मध्यान्न १२ः२० र सिमरा-पोखरा अपरान्ह १ः१५ बजे हुनेछ ।

पहिलो दिन सिमराबाट ८ यात्रु पोखरा आएका छन् भने पोखराबाट पर्यटन व्यवसायी सहितको १८ यात्रु सिमरा गएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पर्यटन पुनरुत्थान गर्न पोखरेली व्यवसायीलाई सिमरा पुर्‍याएको हो । गण्डकीका पर्यटन मन्त्री मणिभद्र शर्मा समेतको टोलीले तीन दिनसम्म सिमरामा पोखरा र गण्डकी प्रदेशको पर्यटकीय गन्तव्यबारे प्रचार गर्ने छन् । भारतीय पर्यटक लक्षित गरेर सिमरा उडान गरिएको हो ।

पोखराबाट जोमसोम नियमित उडान हुन्छ । मनाङको हुम्डे र बागलुङको बलेवा विमानस्थल अहिले प्रयोगमा छैन । पोखरालाई हव मानेर सबै प्रदेशमा हवाई उडान भरिने मन्त्री शर्माले बताए । ‘पोखरा नेपालकै पर्यटकीय केन्द्र हो । पर्यटनको नेतृत्व पोखराले गर्छ,’ उनले भने, ‘त्यसका लागि कनेक्सन महत्वपूर्ण हुन्छ । हामीले अहिले कनेक्सनमा जोड दिएका छौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *