पत्रकारी भाषाशैली कसरी बनाउने प्रभावकारी ?

प्रविधिको विकाससँगै सञ्चारका लागि अनेक साधन विकास भएका छन् । सञ्चारकै लागि श्रव्य, दृश्य, लेख्य-पाठ्य, अभिलेख्य र रूपान्तरक यन्त्रहरूको प्रयोग बढ्दो छ । यति हुँदा हुँदै पनि विश्वसञ्चारको मूल र सर्वोच्च माध्यम भनेको चाहिँ भाषा हो । अहिले सञ्चारमाध्यमका रूपमा आमसञ्चारका छापा, रेडियो, टेलिभिजन, अनलाइनले आमसञ्चारका आयामका रूपमा काम गरिरहेका छन् । साथै सामाजिक सञ्जाल पनि अहिले सञ्चारको एउटा पक्षका रूपमा विकसित भइरहेको छ । यी जेजस्ता सञ्चारमाध्यम हुन् वा आमपत्रकारिताको कुरा होस् सबैको मियो हो- भाषा ।

के हो भाषा, के-के हुन् यसका स्वरूप ?
सूचना, सन्देश वा विचार आदानप्रदान गर्ने माध्यमलाई भाषा भनिन्छ । यो एक मानिसले अर्को मानिससमक्ष सूचना सन्देश विचार वा सन्देश प्रवाह गर्ने र एक मानिसले अर्को मानिसबाट सूचना, सन्देश, विचार र भावना ग्रहण गर्ने दोहोरो माध्यम हो । वक्ता र स्रोताको हैसियत परिवर्तन हुँदै गरिने विनिमयलाई चाहिँ बातचित, कुराकानी, वार्तालाप वा संवाद भनिन्छ ।

भाषाका कथ्य र लेख्य दुई स्वरूप हुन्छन् । ध्वनि वा उच्चारणका माध्यमबाट कथ्य भाषा सञ्चरित हुन्छ भने लिपि र चिह्नहरूका माध्यमबाट लेख्य भाषा सञ्चरित हुन्छ ।

लेख्य र कथ्य भाषाका सूक्ष्म र स्थूल स्वरूप पनि हुन्छन् । सूक्ष्म स्वरूपको भाषा जैविक रूपमा उत्पादित हुने ध्वनि हो । यस्तो ध्वनिको उत्पादन कार्य श्वासप्रश्वास, स्नायु र चेतनप्रणालीका अन्तरक्रियाबाट सम्पन्न हुन्छ । ध्वन्यात्मक भाषा उत्पादन र ग्रहण हुनका लागि कान र मुखसहितका ध्वनि उत्पादक अवयवहरू क्रियाशील हुन्छन् । भाषिक ध्वनि उत्पादक अङ्गबाहेक मानवअङ्गबाटै उत्पन्न भए पनि सबै ध्वनि भाषिक ध्वनि हुँदैनन् । उदाहरणका लागि, ताली पड्काउँदा निस्कने आवाज सूक्ष्म रूपको भाषिक ध्वनि होइन ।

भाषाका कथ्य र लेख्य दुई स्वरूप हुन्छन् । ध्वनि वा उच्चारणका माध्यमबाट कथ्य भाषा सञ्चरित हुन्छ भने लिपि र चिह्नहरूका माध्यमबाट लेख्य भाषा सञ्चरित हुन्छ ।

सूचना वा सन्देशको प्रवाह इसारा, चिह्न, सङ्केतजस्ता अन्य अर्थप्रतीकहरूबाट पनि हुन्छ । यस्ता अर्थप्रतीकहरू सूक्ष्म नभएर स्थूल माध्यम हुन् । सहज रूपमा सूक्ष्म भाषिक ध्वनि उत्पादन, प्रेषण तथा ग्रहण गर्नमा व्यवधान आएमा भाषिक सूचना सन्देशलाई स्थूल चिह्न, इसारा र साङ्केतिक माध्यमबाट प्रेषण र ग्रहण गरिन्छ । बोली वा श्रवण शक्तिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूबीच सञ्चरित हुने साङ्केतिक भाषा र विभिन्न ठाउँमा सार्वजनिक रूपले र गैरभाषिक सन्देश (सवारी वा सडक सङ्केत, खतरा वा होसियारीका सङ्केत)हरू स्थूल सञ्चारका स्थूल स्वरूपमा पर्छन् । यस आलेखमा लेख्य र कथ्य भाषाको सूक्ष्म स्वरूप नै मूल रूपमा चर्चा गरिन्छ ।

आमसञ्चार र पत्रकारितामा भाषा
विश्वभर नै आमसञ्चार र पत्रकारिता एउटा पृथक कार्यक्षेत्र, पेसा र व्यवसायको रूपमा विकसित भएको छ । सूचना र सञ्चारको केन्द्रीयतामा चल्ने यो क्षेत्रका लागि भाषा एकदमै महत्त्वको कुरा हो । आमसञ्चार वा पत्रकारितालाई उत्पादन प्रक्रियासँग तुलना गर्ने हो भने भाषा यसको मूल कच्चापदार्थ त हुँदै हो‚ सँगसँगै प्रशोधन र परिष्कार प्रक्रियाको पनि मूल साधन भाषा नै हो ।

समाचार लेखौँ वा सम्पादन गरौँ, सूचना बनाऔँ वा प्रकाशन प्रसारण गरौँ, विज्ञापन तयार पारौँ वा कुनै गीत कविता दृश्याङ्कन र छायाङ्कन गरौँ,भाषाकै भूमिका हुन्छ, भाषै चलाउनुपर्छ, भाषै खेलाउनुपर्छ । यस हिसाबले भन्ने हो भने सञ्चारकर्मीको कर्मथलो भनेकै भाषा हो र‚ जुन भाषामा सञ्चारकर्म वा पत्रकारिता गरिन्छ‚ त्यसको साङ्गोपाङ्ग ज्ञान अपरिहार्य नै हुन्छ ।

नेपाली भाषा र पत्रकारिता
नेपाली भाषामा पत्रकारिताको विकास छापा पत्रकारिताको माध्यमबाट अगाडि बढ्दै आएको छ । यसरी प्रारम्भमा नेपाली पत्रकारिता लेख्य भाषाबाट अगाडि बढ्दै आयो । अनि, रेडियो र टेलिभिजन पत्रकारिताको आगमनसँगै लेख्य र कथ्य दुवै रूपका भाषाका माध्यमबाट नेपाली पत्रकारिता अगाडि बढ्दै आएको छ ।

पत्रकारिताको आधारमाध्यम भाषा नै भए पनि यसलाई विशिष्ट पेसा, व्यवसाय वा उद्योगका रूपमा अगाडि बढाउनेहरूले नै सुरुमा सचेततापूर्वक नलिने गरेको थिए । त्यसैको परिणामस्वरूप आजको नेपाली पत्रकारिता नेपाली भाषाको शिष्ट र मानक प्रयोगभन्दा पनि अन्य भाषाको सिको र नक्कलबाट ग्रस्त भएर अगाडि बढ्दै छ भन्ने गरिन्छ । यस विचलनबाट जोगिएर नेपाली पत्रकारिता वा सञ्चारकर्म अगाडि बढाउनका लागि नेपाली भाषा प्रयोगका सम्बन्धमा अवलम्बन गर्नुपर्ने सतर्कताको अलिकति छलफल गरौँ ।

आमसञ्चार वा पत्रकारिताको फाँटमा प्रयोग हुने भाषिक संरचना
भाषा सामाजिक सम्पर्क र सन्देश आदानप्रदान गर्ने संरचनागत व्यवस्था हो । यो ध्वनि/वर्ण, अक्षर, रूपिम, शब्द, वाक्य, अनुच्छेद हुँदै सङ्कथनका विभिन्न स्वरूपमा संरचनाबद्ध हुन्छ । भाषिक रचनाहरू सामान्यतः निबन्ध, आख्यान, कविता र नाटकका रूपमा संरचित हुन्छन् । पत्रकारिताले सूचना, मनोरञ्जन, विचार र विज्ञापनलाई मूल कर्मक्षेत्र बनाएर काम गर्ने हुनाले उल्लिखित सबै भाषिक रचनाका बारेमा सञ्चारकर्मी स्पष्ट हुनुपर्छ । मूलतः यस्ता रचनागत भेदमा भाषाको शैलीपक्ष बलवान् हुन्छ । उदाहरणका लागि, विज्ञापनका लागि नाटकीकरण, कवितात्मक (गीतसमेत) वा आख्यान (कथा)को भाषाशैलीको सम्मिश्रण उपयुक्त हुन सक्ने हुन सक्छ भने विचारका लागि आत्मपरक/व्यक्तिगत निबन्धात्मक शैली प्रयोग हुन सक्छ । समाचार वा सूचनालाई नाटकीकरणको शैली अपनाइयो भने त फेरि बर्बादी वा फसादकै विषय बन्न सक्छ ।

पत्रकार वा सञ्चारगृह दुवैका लागि शिष्ट र स्वच्छ भाषिक नीति आवश्यक हुन्छ र त्यसको अवलम्बन गर्नुपर्छ । यसका लागि सञ्चारगृहका प्रकाशन, वेबसाइट र आन्तरिक सञ्चार तथा पत्राचारहरूमा भाषागत एकरूपता कायम गर्ने कुरालाई उच्च प्रथमिकतामा राख्नुपर्छ ।

सूचना वा समाचारलाई शब्दशक्तिको अभिधाबाट टाढा लान सकिँदैन । अब सञ्चारकर्मीलाई भाषाको अभिधा, लक्षणा र व्यञ्जनाजस्ता शब्दशक्ति : कर्ता, कर्म र क्रियाजस्ता वाक्यका स्वाभाविक र अनिवार्य अवयब र तिनको स्थानको विचलनले अर्थमा ल्याउने भिन्नता, कथन वा अभिव्यक्तिको लम्बाइ र वाक्यका ढाँचा (वाक्यमा कतिसम्मको सङ्ख्याका शब्द राख्ने : सरल, संयुक्त र मिश्र वाक्य कहाँकहाँ र कसरी प्रयोग गर्ने) : व्याकरणात्मक कोटी र पदवर्ग (नाम, सर्वनाम, विशेषण, क्रिया, क्रियाविशेषण, नामयोगी, निपात), व्याकरणात्मक व्यवस्था (काल, लिङ्ग, वचन, वाच्य, विभक्ति) आदिको यथेष्ट ज्ञान र मानक अभ्यासको हेक्का रहेन भने पेसा, व्यवसाय वा उद्योगका बलले मात्र सञ्चारको धर्म निर्वाह गर्न सकिएला र ?

कस्तो भाषिक अभ्यासमा जोड दिन पर्ला ?
पत्रकार वा सञ्चारगृह दुवैका लागि शिष्ट र स्वच्छ भाषिक नीति आवश्यक हुन्छ र त्यसको अवलम्बन गर्नुपर्छ । यसका लागि सञ्चारगृहका प्रकाशन, वेबसाइट र आन्तरिक सञ्चार तथा पत्राचारहरूमा भाषागत एकरूपता कायम गर्ने कुरालाई उच्च प्रथमिकतामा राख्नुपर्छ । शैली पुस्तिकका माध्यमबाट संस्थागत कार्यमा प्रयोग हुने भाषाको एकरूपता, विशिष्टता र भिन्न पहिचान दिनपर्छ ।

दोस्रो कुरा शुद्ध वा मानक लेखन/वाचनमा अभ्यस्त बन्नुपर्छ । यहाँ मानक लेखन वा वाचनको अर्थ वर्णविन्यासको शुद्धतामा सीमित छैन । वाक्यगत रचना, अनुच्छेद र अर्थसुनिश्चय पनि यसैभित्र पर्छन् । यसलाई निम्नानुसार बुझ्न सकिन्छः

समाचार/सूचना लेखनको भाषाशैली : नेपाली सञ्चारमाध्यमले दिने समाचारको भाषामा राजनीतिक समाचार मुख्य हुन्छन् । नेताहरूले ‘मैले नभनेको कुरा लेख्यो’ वा ‘मैले त्यसो भनेकै थिएन’ जस्ता कुरा गरेर आफ्नै कार्यको समाचार पनि खण्डन गरिरहेका हुन्छन् । यसमा के उनीहरूमात्र दोषी छन् वा सञ्चारकर्मीको भाषिक कमजोरीले पनि काम गरेको छ ? विचारणीय पक्ष यो हुन्छ । भाषिक रचनाका हिसाबले समाचार वा सूचनामा सन्देशको पूर्णता अपरिहार्य हुन्छ । समाचार वा सूचना रचनाका दृष्टिले वस्तुपरक निबन्ध हो । यसैले यसमा शब्दशक्तिको रूपमा अभिधाधर्मी प्रयोग गरिनुपर्छ । अर्थात् समाचार वा सूचनामा जे शब्द वा उक्तिहरू प्रयुक्त हुन्छन्‚ तिनले सोझो त्यही अर्थ दिनुपर्छ । समाचार वा सूचना कलाहीन हुन्छ‚ त्यसैले यसमा कलात्मक र निजात्मक भाषाशैलीको स्थान शून्य हुन्छ ।

समाचारलाई आकर्षक बनाउन वा सञ्चारको प्रभाव देखाउन ‘मन्त्रीको गाडीले हान्दा पत्रकार ठहरै’ भन्ने जस्ता वाक्यहरू समाचार वा सूचनाको भाषाशैली हुँदैनन् किनभने यस्तो कथन वा उक्तिले शब्दको लक्षणा वा व्यञ्जना शक्ति बोलिरहेको हुन्छ । ‘बालविवाह जघन्य सामाजिक अपराध’ यो पनि सूचना र समाचारको भाषाशैलीमा पर्दैन किनभने अपराधको वर्गीकरण सामाजिक र व्यक्तिगत भनेर गर्ने कुरा नै होइन । जघन्य भनेको १० वर्षभन्दा बढी कैद सजाय हुने अपराधलाई भनेर हाम्रो कानूनले परिभाषित गरेको छ‚ अनि बालविवाह गर्ने/गराउनेलाई बढीमा तीन वर्षसम्म सजाय हुने हो ।

कानूनले सामान्य कोटीको अपराध भनेको कुरालाई समाचार वा सूचनामा जघन्य भन्न पाइन्छ ? यसैले समाचार वा सूचना लेख्दा भाषाको अभिधाधर्मी शैली अपरिहार्य हुने कुरामा हमेसा ध्यान पुग्नुपर्छ । यसअर्थमा समाचार वा सूचनाका अन्तर्वस्तुमै भाषासम्पादनको महत्त्व बढी हुन्छ ।

लेख/टिप्पणी/समीक्षाको भाषाशैली : नामैले यिनीहरू निबन्धात्मक रचना हुन् । यसमा वस्तुपरक र आत्मपरक दुवै भाषाशैली प्रयोग हुन सक्छ । समसामयिक विषयमा लेखिने लेखमा तथ्यहरूको प्रस्तुति वर्णनात्मक हुने हुनाले त्यसमा वस्तुगत लेखन शैली अपनाइनुपर्छ । सँगसँगै लेखक/टिप्पणीका/समीक्षकको सम्बन्धित विषयउपरको दृष्टिकोण, अभिमत र अनुभूतिको पनि लेखरचनामा स्थान हुन्छ । त्यसैले आत्मपरक शैलीमा निजात्मक अभिव्यक्ति पनि लेखकले पस्कन सक्छ । लेखरचनाको सम्पादन त्यस अर्थमा अलिक जटिल हुन्छ । लेखकले प्रक्षेपण गरेका अभिधार्थी सूचना र लक्षणाधर्मी दृष्टिकोण, अभिमत वा अनुभूतिलाई छुट्याउने सामर्थ्य राखेर मात्र लेखरचनाको सम्पादन राम्रो गर्न सकिन्छ ।

सञ्चारकर्मीले लेखन र सम्पादन कार्य गर्दा भाषाको अर्थ र शैली पक्षमै बढी ध्यान दिनु अपरिहार्य छ । त्यो किन हो भने शब्दगत शुद्धतालाई हामी शुद्धिपठनबाट सच्याउन सक्छौँ तर सन्देश र अर्थतत्त्वलाई त्यसले सच्याउन सक्दैन ।

मनोरञ्जनात्मक सामग्रीको भाषाशैली : सञ्चारमाध्यमले पस्कने मनोरञ्जनका सामग्रीको भाषाशैली मानिसमा अन्तर्निहित मानवमर्यादालाई अपमान हुन सक्ने कुराबाट जोगाउने गरी श्लील, शिष्ट र आदरार्थी हुनुपर्छ । कला प्रयोग गरी उक्तिका विचित्रता यसमा भरपुर प्रयोग गर्न सकिन्छ‚ तर तिनले कानुनले निषेध गरेका कुरालाई प्रोत्साहित गर्ने वा कानूनले प्रत्याभूत गरेका कसैका हकअधिकारको उपेक्षा गर्ने हुनु हुँदैन । उदाहरणका लागि, महिलालाई पुरुषभन्दा कमजोर वा तल्लो दर्जाको दर्साउने वा बालबालिकालाई वयस्कभन्दा निचा हुन् भन्ने सन्देश अन्तर्निहित सामग्री जति नै कला र अभिव्यक्ति कौशलले भरिपूर्ण भए पनि ती ग्राह्य भाषाशैलीमा आउँदैनन् । यस्तो सामग्री तयार वा सम्पादन गर्दा मानवअधिकार र मानिसका प्रतिष्ठा, समाजले अश्लील अर्थमा लिने विषयवस्तु र सामग्रीले समाजमा जाने सन्देशका सम्भावित नकारात्मक पाटाहरूलाई विचार गरेर सरस भाषाशैली प्रयोग गर्नुपर्छ ।

विज्ञापनको भाषा : प्राय: सञ्चारमाध्यमले विज्ञापनदाता वा प्रायोजकले उपलब्ध गराएका बनिबनाउ विज्ञापन नै प्रकाशन/प्रसारण गर्ने गर्छन् । त्यसमा भाषाशैलीका हिसाबले सञ्चारमाध्यमको खास भूमिका नदेखिन सक्छ तर जनउत्तरदायी सञ्चारमाध्यमले विज्ञापनको भाषाशैलीमा पनि उत्तिकै ध्यान दिनुपर्छ । उदाहरणका लागि, बालविवाह र बहुविवाह हाम्रो कानूनले निषेध गरेको छ । अनमेल विवाह (वरबधूको उमेरमा ठूलो अन्तर)लाई चाहिँ कानुनले निषेध गरेको नभए पनि नेपाली समाजमा रुचाइने विषय छैन ।

कुनै विज्ञापनमा बालबालिकालाई वरबधू वा पतिपत्नी बनाएर तयार गरिएको सामग्रीलाई विज्ञापन वा त्यसको अंशको रूपमा प्रकाशितरप्रसारित गर्ने कि नगर्ने ? यसैले विज्ञापनको भाषालाई पनि तिनको शैलीगत आलोकबाट परिमार्जन वा सम्पादन गरेर मात्र पस्कन मिल्ने अवस्था आउन सक्छ ।

अन्त्यमा,
नेपाली भाषाको प्रयोगका बारेमा चर्चा हुँदा हामी वर्णविन्यासका शुद्धताको कुरा जोडतोडले गर्छौँ । वर्तनी ह्रस्व गर्ने कि दीर्घ, शब्द जोडेर लेख्ने कि छुट्याउने, तत्सम लेख्ने कि तद्भव लेख्ने ? अर्को भाषाबाट लिइएका शब्द के कसरी लेख्नेजस्ता कुरा महत्त्वपूर्ण नै हुन् । तथापि, त्योभन्दा बढी महत्त्व वाक्य, अनुच्छेद र सिङ्गो रचनामा प्रयोग हुने भाषा र शैली अनि प्रक्षेपण गरिने सूचना वा सन्देशको अर्थमा रहेको हुन्छ । यसैले सञ्चारकर्मीले लेखन र सम्पादन कार्य गर्दा भाषाको अर्थ र शैली पक्षमै बढी ध्यान दिनु अपरिहार्य छ । त्यो किन हो भने शब्दगत शुद्धतालाई हामी शुद्धिपठन (प्रुफरीडीङ) बाट सच्याउन सक्छौँ तर सन्देश र अर्थतत्त्वलाई त्यसले सच्याउन सक्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

kite