९९ किसानलाई बैंकको १२ करोड सहुलियत ऋण

काठमाडौँ । पशुपालन क्षेत्रका ९९ किसानलाई विभिन्न बैंकले १२ करोड ११ लाख ७४ हजार रुपैयाँ ऋण प्रदान गरेका छन् । गत आर्थिक वर्ष जिल्लामा विभिन्न आठ सरकारी, निजी बैंक तथा वित्तीय संस्थाले किसानलाई उक्त रकम प्रदान गरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ ।

सरकारले व्यावसायिक कृषि प्रवर्द्धनका लागि विशेष सहुलियत व्यवस्था गरेसँगै सरकारी स्वामित्वमा रहेका वित्तीय संस्थाले व्यावसायिक आधार मूल्याङ्कन गर्दै विशेष ऋण प्रवाह गरेको हो ।

कार्यालय प्रमुख डा रुपेश श्रेष्ठका अनुसार यसरी ऋण प्रदान गर्नेमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले दिएको छ । यस बैंकले ४० पशुपालक किसानलाई तीन करोड ३३ लाख रुपैयाँ ऋण दिएको छ ।

नेपाल बैंकले १० किसानका लागि एक करोड १२ लाख, राष्ट्रिय वाणिज्य बैंकले चार किसानका लागि ५९ लाख रुपैयाँ ऋण प्रदान गरेको छ । यहाँ सो सरकारी बैंक बाहेक जिल्लाका निजी बैंकलेसमेत सहुलियत ब्याजमा ऋण दिने गरेको पाइएको छ ।

निजीमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले २० जना किसानका लागि तीन करोड ४६ लाख रुपैयाँ ऋण दिएको छ । बैंकले किसानलाई पशुपक्षी तथा मत्स्यपालनका लागि ऋण दिएको थियो ।

त्यस्तै, ग्लोबल आइएमईले सात किसानलाई ६८ लाख रुपैयाँ ऋण दिएको उक्त केन्द्रका प्रमुख श्रेष्ठको भनाइ छ ।

उनका अनुसार एभरेष्ट बैंकले १० किसानलाई एक करोड १८ लाख ७४ हजार रुपैयाँ सहुलियत ऋण दिएको छ भने प्राइमले ६ किसानलाई एक करोड ५३ लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण दिएको छ ।

त्यस्तै, सबैभन्दा कम एनएमबी बैंकले दुई किसानका लागि २५ लाख रुपैयाँ सहुलियत ऋण दिएको छ । पशुसेवा कार्यालय लमजुङका प्रमुख श्रेष्ठले भने, ‘जिल्लामा रहेकामध्ये १५ बैंक तथा वित्तीय संस्थासँग ऋणप्रवाहको तथ्याङ्क माग गरे पनि जम्मा आठ बैंकले मात्रै सहुलियत ऋण सेवा प्रवाह गरेको छ ।’

रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *