दीक्षान्त प्रकाशनले गर्‍यो डेढ लाख बराबरका पुस्तक हस्तान्तरण

काठमाडौँ । दीक्षान्त पुस्तक प्रकाशन कीर्तिपुरले धादिङ जिल्लास्थित एउटा विद्यालयलाई डेढ लाखभन्दा बढी मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ । आफ्नो १४ औँ पुस्तकालय दिवसको अवसरमा प्रकाशनले धादिङ धुनीवेशी-५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरेको हो ।

विद्यालयलाई एक कार्यक्रमकाबीच प्रकाशनका व्यवस्थापक महेश शर्मा र नम्रता अर्याल शर्माले पुस्तकहरू हस्तान्तरण गरे । ‘सबल समाजको आधारः सार्वजनिक पुस्तकालय विकास र विस्तार’ भन्ने मूल नाराका साथ मनाइरहेको १४ औँ पुस्तकालय दिवसका अवसरमा आफूहरूले सार्वजनिक पुस्तकालय समुदायस्तरमा पुगोस् भन्ने चाहेको दीक्षान्त प्रकाशनका व्यवस्थापक महेश शर्माले बताए ।

हस्तान्तरण कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिकुमार ढकालले गरेका थिए भने कार्यक्रममा विव्यस सदस्य तथा प्रधानाध्यापक तथा विद्यालयका शिक्षकहरूसमेत उपस्थित रहेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक अनिल रुपाखेतीले पुस्तकको महत्त्वमाथि प्रकाश पार्दै हस्तान्तरित सामग्रीले पुस्तकालय स्थापनामा सहयोग पुग्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकालले सामाग्री वितरण गरेकोमा दीक्षान्त प्रकाशनलाई आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा व्यक्त गरे । दीक्षान्त पुस्तक प्रकाशनका व्यवस्थापक तथा कार्यक्रमका प्रमुख अतिथि महेश शर्माले सहयोग गर्न पाउँदा अत्यन्त खुसी लागेको तथा आगामी दिनमा यस्तै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशनले विद्यालयलाई १ लाख ६८ हजार बराबरको पुस्तक तथा शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा शब्दकोश, सामान्य ज्ञान, विभिन्न तहका पाठ्यपुस्तक, विभिन्न साहित्यिक कृतिहरू, शिक्षा तथा अन्य विभिन्न क्षेत्रका ऐन नियम तथा संविधान र विभिन्न स्टेशनरीहरू रहेको दीक्षान्त पुस्तक प्रकाशनकी वितरक शर्माले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *