नेकपा एस रोज्दै प्रदेश १ का १० सांसद

आजै प्रदेश निर्वाचन आयोगमा हस्ताक्षर बुझाउने

विराटनगर । नेकपा एकीकृत समाजवादीले आज प्रदेशमा दल विभाजनको आधिकारिक हस्ताक्षर बुझाउँदैछ । एमालेबाट विभाजन भएर बनेको नेकपा (एस)मा लाग्ने सांसदहरुले दल छान्ने व्यवस्था अनुसार आजै दल छान्नका लागि हस्ताक्षर बुझाउन लागेको हो ।

प्रदेश निर्वाचन आयोगको कार्यालयमा दल छनौटको लागि हस्ताक्षर बुझाउने तय भएको नेकपा एसले जनाएको छ ।  निर्वाचन आयोगको विराटनगरस्थित कार्यालयमा नेकपा एसको सांसदले हस्ताक्षर बुझाउने तयारी भएको नेकपा एसका नेता तथा प्रदेश सांसद राजेन्द्र राईले बताए ।  राईका अनुसार आज मध्यान्ह १२ बजे  दल छान्ने व्यवस्था अनुसार १० जना सांसद सहित हस्ताक्षर बुझाउने तय भएको छ।

हस्ताक्षर बुझाउने भनिएका सांसदहरुमा भोजपुरका राजेन्द्र राई, उदयपुरकी सांसद सुनिता कुमारी चौधरी, खोटाङका राजन राई,  मोरङका सांसदहरु उपेन्द्र कुमार घिमिरे, कृष्ण कुमारी राई, सावित्रीकुमारी रेग्मी, पाँचथरका गणेश काम्बाङ, इलामकी खिनु लङ्वा लिम्बु छन् ।

अहिलेसम्म  आफ्नो पक्षमा भएका १० जना बाहेक अन्य सांसदहरु थपिने टुंगो लागि नसकेको राईले मकालुखबरलाई बताए । ‘अहिलेसम्म १० जनाले हस्ताक्षर सहित निर्वाचन आयोगको कार्यालयमा जाने तय भएको छ,’ उनले भने, ‘केही स्थानीय तहका साथीहरु पनि आउने भएको कारण निर्वाचन कार्यालयमा पुग्न अलिक ढिला हुनसक्छ ।’ २२ गतेसम्म निर्वाचन कार्यालयमा गएर दल  छान्न पाउने भएकोले बिचमा अन्य सांसदहरु पनि आफ्नो दलमा आउनसक्ने राईको भनाई छ ।

दबाब आउन थालेपछि होटलमा
नेकपा एकीकृत समाजवादीका  प्रदेश सांसदहरु अहिले कता छन् त्यो बारेका धेरै अन्याेलमै छन् । सत्तापक्ष नेकपा  एमालेका नेताहरुले फोन गर्दा उनीहरुले एकदमै कम मात्र फोन उठाउने गरेको श्रोत बताउँछ  ।

१० जना सांसद लिएर बसेका एसका नेता राजेन्द्र राई सहितका  सांसदहरु भदौ १३ गतेदेखि २ दिनसम्म विराटनगरको बिग होटलमा थिए । त्यस यता सांसदहरु त्यहाँ बसेको थाहा पाएर भिडभाड हुन थालेपछि सांसद जोगाउन त्यहाँबाट अन्यत्रै सारिएको थियो । कसैलाई विश्वासिला नेताको घर, कसैलाई सांसदहरुकै घरमा राखिएको थियो भने कतिपयलाई बिग होटलबाट अन्यत्रै होटलमा सारिएको थियो ।

नेकपा एसका नेता तथा सांसद राजेन्द्र राई आफ्ना  सांसदलाई जथाभाबी दबाब दिने र प्रभावमा पार्न थालेपछि छरिएर बस्न थालिएको बताए । ‘अहिले कोही सांसद ज्युहरुकोमा नै बस्नु भएको छ, कोही होटलमा हुनुहुन्छ,’ सांसद राईले भने, ‘धेरै दबाब आउन थालेपछि छरिएर बसेका छौँ ।’

सांसदहरुलाई अहिले पनि होटलमै राखिएको छ । कसलाई कहाँ कसरी राखिएको भन्ने बारेमा कसैलाई जानकारी दिइएको छैन । खोटाङका सांसद राजनलाईलाई टेलिफोन गरी जानकारी लिन खोज्दा उनले अहिले केही भन्न नमिल्ने बताए । ‘हामी अहिले सबै एकै ठाउँमा छौँ, उनले भने,  ‘हाम्रो गोपनीयतालाई भंग गर्न मिल्दैन, पार्टी भित्र भएको निर्णय अनुसार  ठाउँ भन्न मिलेन ।’ सांसदहरु विराटनगर छाडेर हिँडेपछि कहाँ कुन होटलमा छन्  निश्चित सांसद र नेता बाहेक कसैलाई जानकारी दिइएको छैन । गोप्य  रुपमा होटलमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *